शनिबार, आश्विन १७ गते २०८३

आयातमा ७६ प्रतिशतले वृद्धि, दुई महिनामै व्यापार घाटा पुग्यो २ खर्ब ७० अर्ब माथि

कार्तिक ९, २०७८ मंगलबार
आयातमा ७६ प्रतिशतले वृद्धि, दुई महिनामै व्यापार घाटा पुग्यो २ खर्ब ७० अर्ब माथि

 

चालु आर्थिक वर्षको पहिलो २ महिनामा निर्यातभन्दा २७० अर्ब ४८ करोडले बढी आयात भएको छ । आर्थिक वर्ष २०७८।७९ को साउन र भदौ महिनामा गरेर कुल आयात ३१४ अर्ब ५२ करोड पुगेको छ । यता निर्यात भने जम्मा ४४ अर्ब ४ करोड रहेको । 

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा कुल वस्तु निर्यात ११५.४ प्रतिशतले वृद्धि भई रु. ४४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको त्यति अवधिमा निर्यातमा १०.५ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १५०.७ प्रतिशत, २०.७ प्रतिशत र ३१.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, आयुर्वेदिक औषधी, तार, जस्तापाता, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ । 

दुई महिनाको अवधिमा कुल वस्तु आयात ७५.९ प्रतिशतले वृद्धि भई रु.३१४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.१ प्रतिशतले घटेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६.७ प्रतिशत, ७६.२ प्रतिशत र १४१.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल, सुन, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm सबैभन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८।७९ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ७०.८ प्रतिशतले वृद्धि भई रु.२७० अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु.३६ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२१ अर्ब ४५ करोड बराबरको यस्तो आयात भएको थियो ।