शनिबार, आश्विन १७ गते २०८३

बिश्व खाद्य दिवस : नारा र अहिलेसम्मको पारा

आश्विन ३०, २०७८ शनिबार
बिश्व खाद्य दिवस : नारा र अहिलेसम्मको पारा

chamal.jpg
–लोकनारायण सुबेदी 
आज बिश्व खाद्य दिवस । यस बर्ष २०२१ को संयुक्त राष्ट्र संघको  विश्व खाधान्न दिवसको नारा भनें Our actions are our future अर्थात 'हाम्रा कदमहरु नै हाम्रो भविष्य' हुन् भनेंर यस वर्ष खाधान्न सार्वभौमिकतामा विशेष ध्यान दिइएको छ ।आजको कोरोना भाइरसको महोलामा बिश्वले पक्कै महसुश गरेको होला कि भोजनको कति ठूलो महत्व छ र यसले  बिश्व मानब समुदायकाे जीवनमा कति ठूलो भूमिका खेलेको छ । त्यसैले माथि उल्लिखित नारा संयुक्त राष्ट्र संघले पनि दिएको र बिश्वको ध्यान केन्द्रित गरेको  होला । त्यसले आज बिश्वले यस्तो एउटा संयन्त्र बनाउनु पर्ने ज्वलन्त आवश्यकता बनेको छ जसले केवल कृषि संकटको मात्रै समाधान खोज्ने होइन कि खाद्यतन्त्रलाई पनि त्यस दिशामा लैजान सकोस्, जहा सबैका लागि गुणस्तरीय पोषणयुक्त भोजनकाे सार्थक अधिकार सधैंका लागिप्राप्त हुन सकोस् । 
हुन पनि कोरोनाको आजको बिश्वब्यापी पीडादायक समयमा सारा संसारलाई नै कृषि क्षेत्र एउटा महत्वपूर्ण आधारकोरुपमा देखिन थालेको छ । यस अघिसम्म कतिपय अपबादलाई छोडेर कृषि क्षेत्रलाई सर्बत्र उपेक्षा, तिरस्का र नगन्य जस्तो गरेर ब्यवहार गरिदै आएको हो र बर्षौदेखि एक या अर्कोरुपमा यही प्रबृत्ति चल्दै आएको हो । तर कोरोनाका कारणले यो सोचमा परिबर्तन गर्नु पर्ने आवश्यकता महसुस भएको देखिदैछ । यस सम्वन्धमा कृषि तथा खाद्य संगठनका निर्देशक क्यू दोंग्यूले अघिल्लाे बर्ष भनेका थिए — ‘अहिलेसम्म हामीले सोच्ने गरेका थियौं कि सम्पन्न मानिसकासँग पैसा आउँछ र त्यसलाई उसले तल तल पुराउँदछ । तर यो  लेसेज फेयर इकाेनाेमीकाे साेच अपर्याप्त रहेको सिद्ध इसकेको छ । अब समय आइसकेको छ कि यो सोच बद्लिनु पर्दछ’ । यस यथार्थ कुराले पनि कृषि क्षेत्रमा आज ध्यान केन्द्रित गर्नु पर्ने कुरा नै प्रष्टसँग औंल्याउँदछ । किनभने बिश्वमा आज अन्य आर्थिक क्षेत्रमा आर्थिक बृद्धिमा अपूर्ब स्खलन आइसकेको या आइरहेकाे छ तर कृषि क्षेत्रमा प्रायः स्थिरता नैकायम छ । त्यसैले यस क्षेत्रको महत्व बुझ्न मानिसलाई यतिबेला निकै सहज भएको छ । झन हाम्राे जस्ताे देशकाे अर्थतन्त्रको मेरुदण्ड नै कृषि भएका देशहरुका लागि त यो झन ठूलो शिक्षा हो । 
निश्चय नै आज बिश्वमा कृषिमाथि ध्यान केन्द्रित गरिनु पर्ने दुइ तीनवटा स्पष्ट कारण छन् । कयौं देशका लागि कृषि क्षेत्र नै सर्बाधिका रोजगारी प्रदान गर्ने क्षेत्र रहेको छ । नेपालमा अहिले पनि ६६ प्रतिशत कृयाशील श्रमको खपत कृषि क्षेत्रमै हुन्छ । हाम्रो ८० प्रतिशत ग्रामीण क्षेत्र घर–खेतीसँगै जोडिएको छ । अब समय आइसकेको छ हामीले कृषि क्षेत्रलाई राष्ट्रिय हितमा आम जनताको लागि बैज्ञानिक किसिमले सही बाटोमा खडा गरौं र अघि बढाऔं । बिज्ञहरु भनिरहेका छन् कि कृष क्षेत्रलाई अब आर्थिक बृद्धिको ‘पावर हाउस’बनाउन सकिन्छ । यो कोरोना भाइरसको सन्देशको रुपमा आएको अत्यन्तै महत्वपूर्ण कुरा हो ।

chamal.jpg
बिकासोन्मुख र बिकासशील  बिश्वका कयौं देशहरुमा कयौं दशकदेखि खेतपातीबाट मानिसहरुलाई निकालेर शहरतिर लग्ने गरियो । यो कुरालाई बिश्व बैंक, आइएमएफ जस्ता बिश्वका बित्तीय निकायहरुले पनि बढावा दिए ।  यो बास्तवमा उनीहरुकै नीति थियो र बिल्कुलै गलत नीति थियो । तर कोरोनाले गर्दा जब लक डाउन शुरु भयो मानिसहरु शहर छोडेर गाउघरतिरै लागे । यसैबाट स्पष्ट भयो कि यत्रो ठूलो जनसंख्यालाई गाउँघर छोडाएर शहरतिर ल्याउने नीति बिल्कुलै गलत थियो । अब अहिले यसको बिपरीत कोशिश भइरहेको छ कि मानिसहरुलाई गाउँघरमै रोक्नु पर्दछ । तर यो काम सोचे जस्तो सहज र एकै झट्कामा हुने छैन । ग्रामीण क्षेत्रलाई बिस्तारै बिस्तारै यस योग्य बनाइनु पर्ने आवश्यकता छ कि त्यसले त्यहाँका प्रायः सबै मानिसहरुलाई सम्हालेर राख्न सक्ने क्षमता बिकास गरोस् । यसका लागि ग्रामीण कृषिलाई सक्षम,  सबल र आकर्षक बनाउनु पहिलो र प्राथमिक कुरा छ । सम्पूर्ण कृषि क्षेत्रलाई यसरी उच्च प्राथमिकतामा राखेर ‘क्रान्तिकारी बैज्ञानिक भूमिसुधार, आम बिद्यूतिकरण र राष्ट्रिय औद्योगिकरणको आधार तयार गर्ने किसिमले एकसाथ अघि बढेमा मात्र बर्तमान र आगामी दिनका समस्या हल गर्ने दूरदर्शी दिशामा अघि बढ्न र कृषि क्षेत्रलाई सही दिशा दिन सकिने  स्थिति बन्दछ । अनि मात्र 'हाम्रा कदमहरू  र हाम्राे भबिष्य' भन्ने नराले सार्थक र प्रभावकारी रूप लिन सक्छ । कृषि र किसान माथि उठन मद्दत पुग्न सक्छ  ।
ओइसीडी(अर्थात अर्गनाइजेशन फर इकोनोकमिक कोअपरेशन एण्ड डेभलपमेण्ट)को एउटा अध्ययनले के बताएको छ भने बितेको बर्ष २००० र २०१७ को बीचमा किसानहरुलाई झण्डै २ लाख करोड रुपैया नोक्सान हुन पुगेको छ । यसबाटै प्रष्ट हुन्छ कि किसानसँग जोडिएको अर्थब्यवस्थामाथि जानी जानी प्रहार गरिएको छ । 
अर्कोतिर 'ग्लोबल हंगर इण्डेक्स'ले बताइरहेको छ कि दक्षिण एशियाका जति पनि देशहरु छन तिनले कृषिमा भारतकोभन्दा राम्रो प्रदर्शन गरिरहेका छन् ? यद्यपि भारत अन्नको भण्डार हो तर  पनि भारतमा नै भोका मानिसहरुको संख्या पनि सबैभन्दा बढी भएको इन्डेक्सले औंल्याएको छ । यी सबै कुराले प्रष्ट पार्द छ कि बिश्वब्यापीरुपमा कृषिलाई उपेक्षा गरिएको छ र यसलाई तल्लो दर्जाको कामकोरुपमा बेवास्ता गरिएको छ । त्यस स्थितिबाट देशको नेतृत्वलाई कोरोना महामारीले ब्यूँझाइ त दिएको छ तर अझै पनि किसान र कृषिमाथि आबश्यक ध्यान दिइएला, त्यसमा रहेका भूमि स्वामित्वको समस्या, उत्पादन र उत्पादकत्वको समस्या, जल उपयोगको समस्या, तथा बजारको समस्या, कृषि बातारणको समस्या हल गरिएला र किसानको सर्बतोमुखी आधुनिकीकरण गरेर किसान बर्गका समग्र जीवनलाई उठाउन मद्दत गर्ने किसिमले नबीन बैज्ञानिक दृष्टिकोण, नीति र कार्यक्रम अघि सारिएला भन्ने कुरा बिगतका गतिबिधिलाई हेरेर बिश्वास गर्न सकिने आधार बन्दैन । बिगतका अनुभबका आधार  अब नयाँ सोच आयो भने बिश्व खाद्य दिवसको उपादेयता सार्थक ठहर्ला कि ! अन्यथा पुरानै घिसेपिटे कर्म काण्डीय पारामै समय बित्ने कुरा निश्चत छ ।