विश्व पर्यटन दिवसको अवसरमा होटल संघ नेपालले प्रेस विज्ञप्ति जारी गदै पर्यटकलाई राम्रो सेवा सुविधा उपलब्ध गराउन सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ । लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भएको जनाएको छ ।
यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुल्नुका साथै विदेशबाट खोपको पूर्ण मात्रा पुरा गरी भ्रमणमा आउने पाहुनाहरुलाई खोपको मात्रा पूरा भएका करिब ९५ प्रतिशत भन्दा बढी अग्रपंक्तिमा रही खटिने कार्मचारी तथा कामदारहरुबाट सेवा सुविधा उपलब्ध हुने र यसबाट संक्रमण पनि न्यून हुने संघले जनाएको छ ।
विश्व पर्यटन दिवस २०२१ को अवसर मुुलुकमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशत भन्दा माथि नेपाली नागरिकहरुले कोभिडविरुद्धको खोप लगाइसकेको हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तवरबाट यथाशक्य पहल गरिनु अति आवश्यक रहेको उसले जनाएको छ ।
सरकारबाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८को शिघ्र पूर्ण रुपमा कार्यान्वयन हुन र कतिपय द्विविधा भएका विषयहरुमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजिकरण गर्न अनुरोध उसले अनुरोध गरेको छ ।