शनिबार, आश्विन १७ गते २०८३

क्यापिटल साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न

आश्विन १०, २०७८ आइतबार
क्यापिटल साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न

 

बनेपामा रहेको क्यापिटल बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ४ दिन सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी प्रतिवेदन वितरण तथा सुझाव संकलन गरी साधारणसभा सम्पन्न गरेको हो ।

सभामा संस्थाका अध्यक्ष शेरबहादुर तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै स्थापनाकालदेखि नै संस्था सहकारी मुल्यमान्यता र सिद्धान्तमा सञ्चालन भएको र आर्थिक अनुशासनलाई पालना गरी सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लागिपरेको बताए । संस्थाले गत आ.व.मा २३.८१ प्रतिशतले आर्थिक कारोबारमा वृद्धि गरी ४९ करोड २६ लाखको वासलात बनाउन सकेको उल्लेख गरे । 

संस्थाका सचिव फ्रेम बहादुर तामाङले प्रगति प्रतिवेदन तथा वार्षिक कार्यायोजना तथा बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थामा आवधिक बचत राख्ने सदस्यहरुको दुर्घटनामा बीमा गर्ने र मनि ट्रान्सफरको सुविधा थप गर्ने योजना रहेको सभालाई उनले जानकारी दिए । 

संस्थाका कोषाध्यक्ष खेतराज सिटौलाले आर्थिक वर्ष २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुँजी ४ करोड ३१ लाख ५७ हजार, बचत ४४ करोड ९ लाख ४८ हजार र ऋण लगानी ३९ करोड २९ लाख ९३ हजार पुगेको जानकारी गराए । संस्थामा ३ हजार ४४२ सदस्य रहेका छन् ।