बुधबार, भाद्र ३ गते २०८३

प्राधिकरणले पोलको भाडा बढाएपछि केबुल र इन्टरनेट सेवा प्रदायक अन्यौलमा

आश्विन ६, २०७८ बुधबार
प्राधिकरणले पोलको भाडा बढाएपछि केबुल र इन्टरनेट सेवा प्रदायक अन्यौलमा

 

नेपाल विद्युत प्राधिकरणले बढाएको पोलभाडा बढाएपछि विभिन्न सेवा प्रदायकले विरोध जनाएका छन् । प्राधिकरणको पोल उपयोग गरेर सेवा प्रदान गर्ने इन्टरनेट तथा केबुल टेलिभिजन सेवा प्रदायकले भाडादर बढाएर महँगो बनाएको भन्दै विरोध गरेका हुन् । नयाँ कायम गरउको भाडादर फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने चेतावनी नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले दिएको छ। 

प्राधिकरणले लागत र प्रतिफलको वैज्ञानिक अध्ययन, प्रशासनिक खर्च रिकभरी, नेपालको बजार, सरकारको डिजिटल नेपालको परिकल्पनासमेतलाई वास्ता नगरी एकलौटी रुपमा पोलभाडा बढाएको आरोप महासंघले लगाएको छ। 

प्राधिकरणले असोज १५ गतेपछि सम्झौता नगरी आफ्नो पोलमा झुन्ड्याइएका तार तथा उपकरणहरु हटाउने चेतावनी दिएपछि केबल टिभी व्यवसायीदेखि इन्टरनेट सेवा प्रदायकहरुले विरोध गरिरहेका छन्। इन्टरनेट व्यवसायीले ग्राहकहरुलाई प्रतिमहिना ३ सय रुपैयासम्म शुल्क बढ्न सक्ने जनाएका छन् । 

महासंघले सरोकारवालाहरुसँग छलफल गरेर मात्रै पोल भाडा निर्धारणदेखि गैरकानूनी प्रसारण बन्द गर्न माग गरेको छ। महासंघले प्रसारण क्षेत्रलाई करको दायरामा ल्याउनुपर्ने, राइट अफ वे तथा क्लिनफिडको विषयलाई कानून बमोजिम सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।