नेपाल राष्ट्र बैंकले आजबाट दशैं लक्षित नयाँ नोट वितरण सुरु गरेको छ । कोभिड १९ संक्रमण जोखिम कायमै रहेको अवस्थामा अनावश्यक भीडभाड हुन नदिनका लागि दशैं आउन दुईसाता भन्दा बढि अवधि बाँकी रहँदै राष्ट्र बैंकले नया नोट सटहीको सूचना जारी गरेको हो । सूचनामा काठमाण्डौ उपत्यकामा अशोज ४ गतेबाटै वाणिज्य बैंकले तोकेका आफूलाई पायक पर्ने शाखाबाट नयाँ नोट लिन पाइने भनिएको छ ।
त्यसैगरी उपत्यका बाहिरका हकमा राष्ट्र बैंकका प्रदेश कार्यालय र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट नोट सटहीको व्यवस्था मिलाइएको छ । नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पूर्ण पालना गर्न सूचनामा भनिएको ।