शनिबार, आश्विन १७ गते २०८३

साताको पहिलो दिन ११४ अंकले घट्यो बजार

आश्विन ४, २०७८ सोमबार
साताको पहिलो दिन ११४ अंकले घट्यो बजार

 

साताको पहिलो दिन सेयर बजारमा उच्च गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ११३ अंक घटेर २६९८ अंकमा बन्द भएको हो। 

कारोबार रकम अघिल्लो साताको अन्तिम दिनहरुको तुलनामा बढेको भएर ८ अर्ब ४९ करोड रुपैयाँसम्म कारोबार पुगेको भएतापनि २८१२ अंकबाट झरेको बजार एकै पटक २६९८ मा बन्द भएको हो । 

तीन दिनको बिदापछि खुलेको सेयर बजारमा लगानीकर्ता स्तब्ध भएका छन्। राष्ट्र बैंकको सेयर धितो ऋणमा गरेको कडाइ बजार घट्नुको पहिलो कारण बनेको लगानीकर्ताको भनाई छ । त्यससँगै वित्तीय बजारमा तरलता अभावले बढेसँगै शेयरबजार निरन्तर बियरिस ट्रेण्डमा हिँडिरहेको छ । 

बजारमा खासगरी तरलता अभाव र दसैंको प्रभाव परेको अनुमान गरिएको छ । सरकारले पुँजीगत खर्च गर्न नसकेका कारण तरलता अभाव अझ चर्किने अनुमान गरिएको छ। यसबाहेक दसैंका लागि अहिलेबाटै पैसा जोहो गर्न थालिएको छ। एकातिर आफ्नो ब्यक्तिगत खर्चका लागि पैसा जोहो गर्नु पर्ने अवस्था छ। अर्कोतिर त्रैमासिक तथा मासिक ब्याज र सरकारी राजस्व बुझाउनका लागि पनि सेयर बेचेर पैसा जोहो गर्न थालिएको छ। 

सूचक अझै घट्छ र घटेको बेलामा निक्कै कम भाउ आउँछ भन्ने मनोविज्ञान लगानीकर्तामा छ। त्यही भएर अहिले नै सेयर बेच्नेहरु बढ्न थालेको देखिन्छ। 

बजारका सबै उपसूचकहरु घटेका छन्। बाणिज्य बैंक, बीमा कम्पनी फराकिलो अन्तरले घटेका छन्। अन्य सूचकका साथै विकास बैंक, फाइनान्स कम्पनी, होटल, लगानी, उत्पादन तथा प्रशोधन समूह पनि घटेको छ।