नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ कारोबारमा लाग्ने सेवा शुल्क तोकेको छ । नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८’ जारी गर्दै इन्टर बैंक फण्ड ट्रान्सफर गर्दा सेवा प्रदायक संस्थाले दिने शुल्क निर्धारण गरेको हो ।
यसअघिसम्म विद्युतिय रकमान्तर सेवा शुल्क बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रदायक संस्थाले नै लिने गरेका थिए । सेवा प्रदायक संस्थाले अनावश्यक सेवा शुल्क असुल्न थालेको गुनासो बढेपछि केन्द्रीय बैंकले सेवा शुल्क तोकेको जनाएको छ ।
जसअनुसार ग्राहकले बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रदायक संस्थाले विद्युतिय रमान्तर गर्दा न्यूनतम प्रति ट्रान्जेक्सन १० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँमात्र सेवा शुल्क लिन पाउँछन् ।
नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङमार्फत् विद्युतीय रकमान्तरमा प्रतिकारोबार ५० हजार रुपैयाँसम्मका लागि १० रुपैयाँ, ५० हजार १ रुपैयाँदेखि १ लाख रुपैयाँसम्मका लागि २० रुपैयाँ र १ लाखभन्दा माथिको कारोबारको हकमा ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।
साथै, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् गरिने राजस्व भुक्तानी सम्बन्धि कारोबारमा सम्बन्धित सेवा प्रदायकले ३ हजार रुपैयाँसम्मका लागि प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।
साथै, ३ हजार १ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका लागि १० रुपैयाँ र १० हजार १ रुपैयाँदेखि माथिको कारोबारमा २० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।
अब बैंक खाताबाट वालेटमा गरिने प्रति कारोबार ५० हजार र प्रति महिना १० लाख रुपैयाँ कारोबार गर्न पाइने ब्यवस्था गरेको हो । यसअघि यस्तो कारोबार प्रति कारोबार २५ हजार प्रति महिना ५ लाख रुपैयाँ सीमा तोकिएको थियो । यस्तै, वालेट मार्फत बैंक खातामा गरिने कारोबारको सीमा ५० हजार रुपैयाँ पुर्याएको छ ।