नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड मार्फत प्रदान गरिने नमस्ते पे मोबाईल वित्तीय सेवा शुभारम्भ भएको छ । नमस्ते पे अनलाइनका साथै अफलाइनबाट नै रकम भुक्तानी गर्न मिल्ने प्लाटफर्म हो । प्रथम चरणको व्यावसायिक सञ्चालन यही २९ भाद्र २०७८ गते एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
शुभारम्भ कार्यक्रममा नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप अनावरण तथा ५०० शर्टकोड युएसएसडिबाट सो सेवा प्रयोग समेतको शुरुवात गरिएको थियो ।
मोबाइल वित्तीय सेवा मार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा अनुरूप नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंक बीच औपचारिक समझदारीको भइ नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड कम्पनी स्थापना भएको हो ।
कोभिड महामारीको कारण सेवा सञ्चालनको लागि खरिद गरिएको उपकरण आपूर्तिमा भएको ढिलाई एवम् सिस्टमको विकास र परिक्षणमा संलग्न जनशक्तिलाई पारेको अप्रत्याशित प्रतिकुल प्रभावको कारण सेवाको व्यावसायिक सञ्चालन शुरु गर्न केही ढिलाई भएपनि प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
मोबाइल सेट बजारको ९५% भन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ । आइओएसको लागि केही समय कुर्नुपर्ने कम्पनीले जनाएके छ । स्मार्ट फोनका अलावा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ।
हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि *500# डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः अन्य टेलिकम प्रदायकसँग पनि सञ्जाल विस्तार गरी विविधिकरण गर्दै लगिने बताइएको छ ।
यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ । बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिनेछ । बैंकहरूको अलावा यस कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा चाँडै शुरु गरिने भएकोछ ।
नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा हो र विभिन्न सञ्चार माध्यम र खासगरी अनलाईन मिडियामा पटक पटक प्रकाशित भए जस्तो नेपाल टेलिकमको मोबाइल ब्यालेन्सलाई नै पैसाको रूपमा उपयोग गर्न भने नमिल्ने कम्पनीले जनाएकाे छ । नमस्ते पे वालेटमा बैंक वा एजेण्ट नेटवर्क मार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानिको लागि प्रयोग गर्न सकिन्छ ।