शनिबार, आश्विन १७ गते २०८३

आयातमा भन्दा उत्पादन र निर्यातमा आधारित राजश्व वृद्धि गर्न अर्थमन्त्रीको जोड

भाद्र २९, २०७८ मंगलबार
आयातमा भन्दा उत्पादन र निर्यातमा आधारित राजश्व वृद्धि गर्न अर्थमन्त्रीको जोड

 

आयातमा आधारित राजस्वभन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजस्व बढाउनुपर्नेमा उनले जोड दिए । आन्तरिक राजश्व विभागको दुइ दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले यसतर्फ थप सक्रियताका साथ काम गर्न निर्देशन दिएका हुन् । करका दरसम्बन्धी थप सुधारका काम कर पुनरावलोकन आयोग गठन गरेर सम्पन्न गरिने उनले जनाए ।

स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएका निर्णय प्रतिष्थापन विधेयकमार्फत फिर्ता नहुने उनले स्पष्ट पारे।

मुलुकको आन्तरिक राजस्व दोब्बर गर्न सकिने सम्भावना रहेको भन्दै उनले योजना पेश गर्न उनले निर्देशन दिए । विभागमा योग्य कर्मचारीहरुको टिम रहेको भन्दै मन्त्री शर्माले राजनैतिक नेतृत्व परिवर्तनको क्रम कर्मचारीहरुको इच्छाभन्दा बाहिर रहेकाले जो नेतृत्वमा आए पनि आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न निर्देशन दिए ।

कर प्रशासनलाई अझै सरल बनाउनुपर्ने भन्दै उनले तीन महिनाभित्र करदाताले अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था मिलाउन निर्देशन दिए । करको दायरा विस्तार गर्न करदातामैत्री व्यवहार गर्ने र मापदण्ड बनाई उनीहरुलाई सम्मान हुने खालको परिचयपत्रको व्यवस्था मिलाउन उनले आग्रह गरे । मन्त्री शर्माले अबदेखि नागरिकतासँगै स्थायी लेखा नम्बर उपलब्ध गराउने गरी आवश्यक नीतिगत तयारी गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले करदाताले भ्याट बिल जारी गर्नासाथ सिधै आन्तरिक राजस्व विभागको प्रणालीमा विवरण दाखिला हुने गरी प्रविधिमा सुधार गर्न निर्देशन दिए । करको दायरा विस्तारमा स्थायी लेखा नम्बर वितरणले महत्वपूर्ण भूमिका खेल्ने भए पनि तिनको ट्रेसिङ र ट्रयाकिङ हुन नसके ‘नन फाइलर’को संख्या बढ्ने उनको भनाइ छ ।