प्रतिनिधिसभाको आज बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयकमाथिको प्रस्ताव पारित गरेको छ।
नेकपा एमालेको अवरोधका बीच सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नासाथ एमाले सांसदहरुले नाराबाजी शुरु गरेपनि होहोल्लाकै बीचमा प्रस्ताव बहुमतले पारित भएको हो।
प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु भएसँगै एमालेले विरोध सुरु गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमालेले सभामुख विरुद्ध आक्रोश व्यक्त गरिरहेको छ। सभामुखले एमालेले कारवाही गरेका १४ जना सांसदको सूचना सार्वजनिक नगरेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ।
गतसाता चालु आवका लागि संशोधित बजेट अर्थमन्त्रीले विनियोजनका विधेयकका रुपमा संसदमा प्रस्तुत गर्दा संसदभवनभित्रै झडपको स्थिति बनेको थियो । साथै सभामुखले असोज ४ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।