आर्थिक वर्ष २०७६।०७७ मा मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी ८.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्भे प्रतिवेदनले सो आर्थिक वर्षमा कुल १ खर्ब ९८ अर्ब ५२ करोड रुपैया वैदेशिक लगानी भित्रिएको हो । लगानी भित्रिने दर त्यस अघिका वर्षहरुमा भन्दा निकै कम रहेको छ । लगानी वृद्धिदर २०७५।०७६ मा १९.५ प्रतिशत रहेको थियो भने २०७४।०७५ मा १३.१ प्रतिशत थियो ।
सन् २०२०मा विश्वभर प्रत्यक्ष वैदेशिक लगानीमा ३५ प्रतिशतले कमी आएको छ । कोरोना भाइरस महामारीले विश्वभर सन् २००९ को मन्दीभन्दा बढी वैदेशिक लगानी प्रभावित भएको छ । विकासोन्मुख देशका लागि यो चुनौतिका रुपमा देखापरेको छ ।
मुलुकमा भित्रिएको कुल लगानी मध्ये ५४.४ प्रतिशत हिस्सा चुक्ता पुँजीको रहेको देखाएको छ भने ३३.८ प्रतिशत सञ्चिति र ११.८ प्रतिशत ऋणको अंश रहेको देखिएको छ ।
नेपालमा विभिन्न ५२ राष्ट्रबाट वैदेशिक लगानी भित्रिएकोमा उक्त अवधिमा अग्रस्थानमा रहेको छिमेकी मुलुक भारतबाट मात्रै ६२.४५ अर्ब रकम भित्रिएको छ । त्यसैगरी चीनबाट ३०.९७ अर्ब, सेन्ट किट्स एण्ड नेभिस बाट १५.२७ अर्ब, आयरल्याण्डबाट १२.९३ अर्ब र सिंगापुरबाट १२.४३ अर्ब रकम भित्रिएको छ ।
वैदेशिक लगानी मध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा भित्रिएकोमा उद्योग, उत्पादन, खानी तथा उत्खनन्तर्फ २८.३ प्रतिशत लगानी भएको छ भने २७.५ प्रतिशत विद्युतको क्षेत्रमा रहेको छ ।
त्यसैगरी ४३.९ प्रतिशत वैदेशिक लगानी सेवा क्षेत्रमा रहेकोम २७.३ प्रतिशत वित्तीय मध्यस्थता र ७ प्रतिशत होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेको छ ।
जलविद्युतको क्षेत्रमा वैदेशिक लगानीकर्ताको विशेष रुचि देखिएको छ । यस क्षेत्रमा विदेशी ऋण समेत थपिएको राष्ट्र बैंककाे तथ्यांक छ ।