शनिबार, आश्विन १७ गते २०८३

उर्जा बचत गर्ने चार कम्पनीलाई अनुदान, राष्ट्रिय वाणिज्य बैंकमार्फत हस्तान्तरण

भाद्र २५, २०७८ शुक्रबार
उर्जा बचत गर्ने चार कम्पनीलाई अनुदान, राष्ट्रिय वाणिज्य बैंकमार्फत हस्तान्तरण

 

राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केएफडब्ल्यु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत  बिहिबार रकम हस्तान्तरण गरेको छ । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि. लाई एक करोड रुपैंया, प्रिमियर वायर्स प्रा.लि. लाई ९३ लाख ६० हजार तीन सय बीस रुपैंया, हुलास स्टील इन्डष्ट्रिज प्रा.लि. लाई ६४ लाख ३७ हजार दुई सय ३१ रुपैंया र सालीमार मेटल्स प्रा.लि.लाई ३२ लाख ८ हजार ८ सय रुपैंया रकम हस्तान्तरण गरेको छ । 

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेकोले स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक एक समारोहका बिच हस्तान्तरण गरिएको हो ।  
नेपालका लागि जर्मन राजदुतावास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका हुन् ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । हालसम्म २१ वटा उद्योगहरुलाई ९ करोड ९२ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको उनले बताए । 

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि आयोजना कार्यान्वयन एजेन्सीको रुपमा सहायता कार्य गर्ने गरेको छ ।  

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइन्छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाउँछ ।