शनिबार, आश्विन १७ गते २०८३

साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकले सहुलियत कर्जा दिने

भाद्र २२, २०७८ मंगलबार
साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकले सहुलियत कर्जा दिने

 

मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । 

काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । यस सम्झौता अनुसार सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय संचालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लागि नेको इनर्जि सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ । 

सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साना विद्युतीय यातायात व्यवसायीहरुलाई  बैंकका देशभरका शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने भएकाले आफूलाई पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरिन ।  बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको उनले बताईन । विपन्न वर्गका ग्राहकहरुलाई वित्तीय साक्षरताका साथै बैंकिङ्ग सेवामा आधुनिकीकरण गर्दै नगदरहित कारोबारमा समेत संलग्न गराउने उद्देश्यका साथ मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीहरुलाई ‘क्यूआर कोड पेमेन्ट सिस्टम’मार्फत बैंकिङ्ग कारोबारमा पनि आबद्ध गराउने नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । 

 सोलुसनका ब्यवस्थाकीय निर्देशक पौडेलले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ लघु तथा साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदानसहितको कर्जा प्रवाह  गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताए । बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना विद्युतीय यातायात व्यवसायीहरुलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मद्दत मिल्ने उनले  बताए ।