राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले परिस्थिति अझै जटिल रहेको भन्दै सहकारी क्षेत्रको लागि अवस्था सहज बनिनसकेको बताएका छन् ।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको २१औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथिकाे रूपमा बोल्दै उनले अर्थतन्त्र झन् ओरालोतर्फ लागेको भन्दै त्यसमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे । ‘राज्यको नेतृत्वसँग अर्थतन्त्रलाइ कसरी माथि उठाउने भन्ने योजना नै भएन, मुलुकमा रोजगारीका अवसर नहुँदा दैनिक हजारौ युवा विदेश पलायन भइरहेका छन्’, उनले भने ।
अध्यक्ष कँडेलले स्थानिय स्रोतसाधन र पुँजीको परिचालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जनामा राज्य चुकेको आरोप लगाए । सहकारी संस्थामा प्रभावकारी नियमन हुन नसक्दा सदस्यको अर्बाैं बचत संकलन गरी केही सहकारी संस्थाले आफनो नीजि कम्पनी र घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्दा अहिले समस्या आएको उनले बताए ।
महासंघले नीतिगत नेतृत्व गर्छ र नियमनको अधिकार राज्यसँग भएको भन्दै उनले प्रभावकारी नियमन गर्न सरकार चुकेको औंल्याए । एउटै सहकारीले १४ अर्ब बचत संकलन गरेर आफनो नीजि कम्पनीमा लगानी गर्दा सरकारले के हेरेर बस्यो भन्दै उनले प्रश्न गरे । कानुनको परिपालना गरे सहकारीमा समस्या नै नआउने उनको भनाई छ ।
सरकारले सहकारीलाई गलत काम गर्ने संस्थाको रुपमा मात्र हेर्ने गरेको भन्दै उनले सहकारीबाट समुदायमा धेरै राम्रा काम समेत भएको बताए । जिल्ला, प्रदेश र केन्द्रिय संघमा भएको पैसा सदस्यको हो । उनले भने ‘सदस्यको बचतलाई सुरक्षित रुपमा परिचालन गरी प्रतिफल दिने कुरा महत्वपूर्ण हो ।’ सञ्जाल व्यवस्थापनको विषयमा कुरा उठेको र त्यसका लागि अभियानका बीच गहन छलफल गरेर साझा धारणा बनाउन आवश्यक रहेको उनले प्रष्ट पारे ।
कार्यक्रममा नेफस्कुन पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गाले सहकारी समुदायमा आधारित भएर सञ्चालन हुनुपर्ने भन्दै सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण लगानी गरेर उद्यमी बनाउनु पर्ने बताए । कार्यक्रममा नेफस्कुनका अध्यक्ष परितोष पौड्यालले सदस्यको बचतको सुरक्षा, संस्थागत सुशासन, प्रभावकारी सञ्चालन र सञ्जाल व्यवस्थापनमा सहकारी दृष्टिकोण र दिशा दिन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले संरचनागत रुपमा एकरुपता कायम गर्दै सदस्यको समृद्धिको लागि साकोस अभियानले काम गर्नु पर्नेमा जोड दिए । सहकारी अभियानलाई व्यवस्थित बनाउने कुराबाट महासंघ पछि हट्न नमिल्ने भन्दै उनले त्यसका लागि नेतृत्वले पहल गर्नु पर्ने औंल्याए । प्रारम्भिक सहकारी संस्थालाई सबल बनाई अभियानमाथि प्रश्न नउठ्ने गरी काम गर्नु पर्ने उनको भनाई छ ।
कार्यक्रममा नेफस्कुनका महासचिव दामोदर अधिकारीले सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै बचत ऋण सहकारी संस्थाले वित्तीय मापदण्ड समेत पालना गर्नु पर्नेमा जोड दिए । सहकारीको बचतलाई उद्यमशीलता र सदस्यको जीवनस्तर परिर्वतनको लागि परिचालन गर्ने कुरामा नेतृत्व दृढताकासाथ लाग्नु पर्नेमा उनको छ । वित्तीय सेवा नपाएका र भविष्यको आशाको किरणकारुपमा अभियानतर्फ हेरिरहेका आम जनताको जीवन परिर्वतन साकोस अभियानले गर्नुपर्ने दायित्व रहेको उनले सुनाए ।
कार्यक्रममा बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सिष्टममा नचलेका र जोखिम व्यवस्थापनमा ध्यान नदिएका सहकारी संस्थामा मात्रै अहिले समस्या आएको बताए । धेरै संघहरु भएर सहकारीमा समस्या नआएको भन्दै उनले सुशासनमा नबसेको सहकारीका कारण समस्या आएको प्रष्ट पारे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले नेटवर्क म्यानेजमेन्टका नाममा बचत संघलाई शुन्य बनाउने कुरा मान्य नभएको बताए । उनले जिल्ला बचत संघ सक्रिय भएको ठाउँमा सहकारीमा समस्या नआएको भन्दै सञ्जाल व्यवस्थापन गर्ने कुरामा बचत संघको भूमिका के हुने भन्ने कुरा स्पष्ट आउनु पर्ने बताए । लाखाजुले केन्द्रीय संघको साम्राज्य आफुहरुले नमान्ने समेत स्पष्ट पारे।
त्यसैगरी कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईंले संघहरुले अब सुशासनको मापदण्ड बनाई सबै संस्थामा लागू गर्न आवश्यक रहेको औंल्याए । ‘अहिले एउटै संस्थालाई जिल्ला संघ, प्रदेश संघ, सहकारी बैंक र नेफस्कूनले लगानी गरेको अवस्था छ, तर संस्था वित्तीय रुपमा टिक्ने नटिक्ने भने ठेगान छैन ।’ उनले भने ‘यसले सदस्यको बचत समेत असुरक्षित भएको छ । अब कुन संघले के गर्ने भर्नेमा स्पष्ट धारणा बनाउन आवश्यक छ ।’
कास्कुनका अध्यक्ष तथा कार्यक्रमका सभापति दिपक पनेरुले बचतऋण अभियानलाई व्यवस्थित गर्दै लैजान आफुहरु लागिपर्ने बताए । सहकारीमा विविध समस्या रहेको र त्यसको कारण खोजी समाधानमा सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए । कास्कुनले सो अवसरमा कास्कुन सहकारी अभियन्ता सम्मानबाट कैलाशभक्त प्रधानाङ्ग र कास्कुन सहकारीविज्ञ सम्मान नेफ्स्कुनका सीइओ डा. शिवजी सापकोटालाई प्रदान गरेको छ ।
कार्यक्रममा दुई विषयमा कार्यपत्र समेत प्रस्तु गरएिको थियो । कास्कुनमा ८०० भन्दा बढी बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् भने १ अर्ब भन्दा माथिको कारोबार हुँदै आएको छ ।
नेपालपत्र संवाददाता