राष्ट्रिय सहकारी बैंकको आयोजनामा हुन लागेको लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा ८ वटा शीर्षकमा कार्यपत्र प्रस्तुत हुने भएको छ ।
आगामी असोज २५ र २६ गते हुन गइरहेको उक्त गोष्ठीमा नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यास: व्यवस्था र अवस्था, वित्तीय सहकारीको जोखिम मापन: संरचना र पद्धति, सहकारीको वित्तीय जोखिम: मापन र व्यवस्थापन रणनीति र सहकारीमा सञ्चालन एवं अनुपालना जोखिम: मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
त्यसैगरी सहकारीको आन्तरिक नियन्त्रण प्रणाली: विकास र अभ्यास, सहकारीको सुशासन र स्वनियमन: प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सहकारीको आन्तरिक नियन्त्रण प्रणाली: विधि, प्रविधि र औजार विषयमा प्रस्तुति हुने बैंकका अध्यक्ष के बी उप्रेतीले जानकारी दिए । गोष्ठीको अन्तिम सत्रमा सहकारीको विद्यमान संकट सामना: रणनीति र भावी कार्यदिशा विषयमा प्रस्तुति रहेकोले गोष्ठी फलदायी हुने उनको भनाई छ ।
गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तोताहरुको प्रस्तुति रहेको भन्दै अध्यक्ष उप्रेतीले गोष्ठीबाट लाभ लिन आग्रह गरे । सहकारी क्षेत्रमा विद्यमान समस्यामा आउनुको मुख्य कायरण लेखा सुपरिवेक्षण समितिको भूमिका प्रभावकारी नहुनु रहेको भन्दै उने लेखा समितिले प्रभावकारी ढंगले काम गरेको थियो भने अहिलेको समस्या नआउने जिकिर गरे ।
सहकारी बैंकले विगत दुई दशकदेखि बैंकिङ सेवाको अलावा सदस्य सहकारी संघरसंस्थाहरुको संस्थागत विकासका लागि विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । सहकारीहरुका वित्तीय तथा गैरवित्तीय आवश्यकता पूरा गर्न सहयोग पुर्यानुका साथै सहकारीहरुलाई दिगो बनाउनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विविध गतिविधिहरुमार्फत सहकारीहरुमा सुशासन, जोखिम न्यूनिकरण र आन्तरिक नियन्त्रण प्रणालीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालपत्र संवाददाता