सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालय मार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ ।
घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, बिद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्बन्धी जनचेतना जगाउने काम गरिएको थियो ।
यो कार्यक्रम मार्फत अझ सरल र सहज तरिकाले ग्राहकवर्ग तथा सर्वसाधारण जनतामाझ पुगेर उहाँहरुलाई बचत गरी भैपरी आउँदा यसबाट हुने फाइदा, नयाँ प्रविधिको प्रयोग गरी बैंकिङ्ग करोवार गर्न जानेको अवस्थामा हुने सहजता तथा सहुलियतपूर्ण कर्जा लगायतका बारेमा समेत बिस्तृत रुपमा जानकारी गराइएको थियो ।
यस्तो कार्यक्रम विशेषगरी ग्रामीण क्षेत्रका जनसमुदायलाई लक्षित गरी आयोजना गरिएको हो । उक्त कार्यक्रममा मुलुकभर फैलिएका बैंकका ९६ वटै शाखा कार्यालयहरुबाट गरिएको र अभियानमा बैंकका कर्मचारीहरुको समेत उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको बताइएको छ ।
कार्यक्रम निकै प्रभावकारी देखिएकाले यस्तो अभियानलाई निकट भविष्यमा पनि संचालन गर्ने बैंकको योजना रहेको बैंकको भनाई छ । बैंकले संचालन गरेको यस घरदैलो सेवा कार्यक्रमबाट बैंकका ग्राहक लगायत सर्वसाधारण पनि लाभान्वित भएको बैंकको विश्वास छ ।