कनेक्ट आईपीएस मार्फत हुने कारोबार रकममा उल्लेख्य वृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक वर्षको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत जेठको तुलनामा असारमा हालसम्मकै उच्चा मात्रामा वृद्धि भएको हो ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा कनेक्ट आईपीएसबाट हुने कारोबार अहिलेसम्मकै उच्चमा पुगेको छ । जेठ महिनामा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाखको कारोबार भएको असार महिनामा ५० प्रतिशतले वृद्धि हुदै २ खर्ब नाघेको हो । एक वर्षमा कनेक्ट आईपीएसबाट डिजिटल भुक्तानीको कारोबार ३६३ प्रतिशतले वृद्धि भएको छ ।
कोरोना संक्रमणकाे दोस्रो लहरबाट बच्न काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत देशका अधिकाशं जिल्लामा निषेधाज्ञा लागु हुँदा कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा कमी आएको थियो । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएपछि पनि आइपीएसमार्फत हुने कारोबार रकम बढेकै छ ।
तथ्यांक अनुसार असार महिनामा कनेक्ट आईपीएसबाट २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाखको कारोबार भएको छ । गत जेठ महिनाको तुलनामा असार महिनामा साढे ७९ अर्ब बढीले कारोबार भएको हो ।
२०७७ असार महिनाभर कनेक्ट आईपीएसबाट कारोबार हुने रकम ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर थियो । गत जेठ महिनाको तुलनामा असार महिनामा कनेक्ट आईपिएस, क्यआर कोड, इकमर्स, वालेट, मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार रकममा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।
विभिन्न वालेट प्लाटफर्महरुबाट गत जेठ महिनामा ८ अर्ब ३५ करोड ३० लाख बराबरको कारोबार भएकोमा असार महिनामा १२ अर्ब ७९ करोड बराबरको कारोबार भएको छ । गत जेठ महिनाको तुलनामा असार महिनामा मात्र ४ अर्ब ४३ करोड ७० लाखले कारोबारमा रकममा वृद्धि भएको छ ।
यस्तै, गत जेठ महिनामा तुलनामा असार महिनामा क्यूआरमा आधारित भुक्तानी मार्फत हुने कारोबारमा १६ करोड ८३ लाखले वृद्धि भएको छ । जेठ महिनामा १ अर्ब ९६ करोड ८० लाख बराबरको कारोेबार भएकोमा असार महिनामा ३ अर्ब ६५ करोड १० लाख बराबरकोे कारोबार भएको छ ।