काठमाडौं — नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद् र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् । योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारीबीचमा अन्यौलता कायम रहेका बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सामाजिक सुरक्षा कार्यक्रमको विषयमा अन्यौल कायम रहेको भन्दै त्यसमा प्रष्टता आवश्यक रहेको उल्लेख गरे ।
प्रदेश नं १ उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले सुमधुर औद्योगिक वातावरणका लागि सामाजिक सुरक्षाका विषयमा सबै सरोकारवालाबीच खुला छलफल हुनु आवश्यक रहेको जनाए । उनले रोजगारदाता र श्रमिकबीच सुमधुर सम्बन्ध स्थापित गर्न आफूहरुले पहल गर्ने उल्लेख गरे ।
छलफलमा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले सामाजिक सुरक्षा कोषमा आवद्ध सबै योगदानकर्ताले आफूले गरेको योगदनको हिसाब खोज्न पाउने जनाए । उनले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका कर्मचारीहरुको दुर्घटनामा उपचारलगायतका सुविधाका लागि अस्पतालहरुसँग सहकार्य गरेर अघि बढ्न लागिएको उल्लेख गरे ।
रेग्मीले २०७८ असार मसान्तभन्दा अगाडि आवद्ध भएका योगदानकर्ताले आफूले बचत गरेको सबै रकम फिर्ता लैजान पाउने बताए। २०७८ असारपछि आवद्ध भइ पेन्सन योजनामा सहभागी भएका बचतकर्ताले ६० वर्षपछि पेन्सन योजनाका लागि गरेको बचतबाहेक सबै रकम निकाल्न सक्ने उनले जानकारी दिए ।
परिसंघको राजश्व समिति गठन
नेपाल उद्योग परिसंघअन्तर्गत राजश्व समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष राजेश अग्रवाल कोअर्डिनेटिङ उपाध्यक्ष र राष्ट्रिय परिषद सदस्य राहुलकुमार अग्रवाल संयोजक रहने गरी समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा वरुण तोदी रहेका छन् ।
समितिले औद्योगिक विकासमैत्री राजस्व नीति तर्जुमा एवं त्यसको कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्नेछ । आयातमा आधारित राजस्व प्रणालीलाई स्वदेशी उद्योगमा आधारित राजस्व प्रणालीमा परिवर्तन गर्ने र राजस्वको दीगो आधार तयार गर्न सरकारलाई सहयोग गर्ने लक्ष्य पनि राखिएको छ ।
समितिमा अमित मोर, आशिष अग्रवाल, गौरव गोयल, ताराप्रसाद पौडेल, दिलिप अग्रवाल, द्विराज शर्मा, नरेश दाश, मनिष खेमका, विक्रम सिंघानिया, विदुशी राणा, विवेक दुगड र सौरभ दुगड रहेका छन् ।