बुधबार, भाद्र ३ गते २०८३

 महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ घोषणा

भाद्र ८, २०७८ मंगलबार
 महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ घोषणा

काठमाडौं।महिला सशक्तिकरणको अवार्ड ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा खेलाडी सन्तोषीको नेतृत्वमा महिला सशक्तिकरणको ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ ले गरेकाे छ ।

नेपालको ग्रामीण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’को घोषणा गरेको हाे । 
गएको १३ औं सागमा नेपाललाई एथलेटिक्समा ऐतिहासिक स्वर्ण दिलाउने राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठको नेतृत्वमा घोषणा गरिएको अवार्ड महिला तथा किशोरी सशक्तिकरणका लागि योगदान दिने व्यक्ति (महिला/पुरुष) वा संस्थालाई प्रदान गरिने बताइएकाे छ । 

साथै वार्षिक रुपमा प्रदान गरिने यस अवार्ड विविध क्षेत्रमा उदाहरणीय कार्य गरेका महिला तथा किशोरीलाई समेत प्रदान गरिनेछ । जसमा विविधि उद्यम, खेलकुद, शिक्षा, स्वास्थ्य, अधिकार, न्याय, सेवा तथा समुदायिक क्रियाकलापमा उदाहरणीय प्रयास गरेकाहरु पर्नेछन् । 

आफ्नै तवरमा सशक्तिकरण भएका महिला तथा सशक्तिकरणमा योगदान पु¥याइरहेका जोकोही व्यक्ति वा संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्यका साथ अवार्डको घोषणा गरिएको हो । 

अवार्डमा विशेष ट्रफीका साथमा नगद तीस हजार रुपैयाँ प्रदान गरिनेछ । साथै विजेताले गरिरहेको कार्यलाई थप सहज बनाउन अन्य सहायता पनि गर्ने गरी अवार्ड घोषणा गरिएको हो । पुरस्कार राशी तथा सहायता हरेक वर्ष विस्तार गरिनेछ । 

नेपालको कुनैपनि क्षेत्रमा महिला तथा किशोरी सशक्तिकरणका लागि जुनसुकै प्रकारका योगदान गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले अवार्डको लागि निवेदन वा सिफारिस गर्न सक्नेछन् । अवार्डका लागि आउँदो सेम्टेम्बरको अन्तिम (असोज १४) सम्म गुगल फारममार्फत निवेदन दिनुपर्नेछ । निवेदन फारम ट्रस्टको वेवसाइटमा उपलब्ध छ । 

ग्रामिण विकास र सशक्तिकरणमा सक्रिय इयरले ट्रस्टले धादिङको सिद्धलेख गाउँपालिकामा समुदाय स्तरमा विद्यालय सञ्चालन गरिरहेको छ । त्यस्तै सामुदायिक शिक्षा तथा बालविकास, स्वास्थ्य, खेलकुद विविध उद्यमशीलता लगायतमा तालिम तथा शिविर सञ्चालन, आवश्यक सामाग्री प्रदान, छात्रवृत्ति तथा प्रायोजन, भौतिक संरचना निर्माण, वातावरण संरक्षण गर्ने कार्य गरिरहेको छ । 
ट्रस्टको संस्थापक जोन इयरले र ट्रस्ट सदस्य डोरियाना दिमित्रोभाको सक्रियतामा अवार्ड आयोजना गरिएको हो । दुवै यूराेपेली नागरिक हुन् ।

सन्तोषी श्रेष्ठ, राष्ट्रिय खेलाडी, निर्देशक, इयरले–दिमित्रोभा वारेन अवार्ड, ९८४१६६०३२४