बुधबार, भाद्र ३ गते २०८३

५६ मेगावाटको जुमखोला जलविद्युत निर्माण गर्न सानिमा हाइड्रोलाई अनुमति

भाद्र ७, २०७८ सोमबार
५६ मेगावाटको जुमखोला जलविद्युत निर्माण गर्न सानिमा हाइड्रोलाई अनुमति

 

दोलखा जिल्ला स्थित जुमखोला जलविद्युत आयोजना निर्माण गर्ने अनुमति सानिमा हाइड्रोले पाएको छ। कम्पनीले गत पुसमा आयोजना निर्माण अनुमति माग गरेको थियो ।  विद्युत विकास विभागले सानिमालाई निर्माणको अनुमति दिएको हो।

विभागले निर्माण अनुमति दिएपनि विद्युत खरिद बिक्री सम्झौता नहुँदा वित्तीय व्यवस्थापन र निर्माणमा जान भने ढिलाइ भएको आयोजनाले जनाएको छ ।  निर्माण सुरु गरेको मितिले ४ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ।

पहुँचमार्गदेखि प्रसारणलाइनसम्मका संरचना निर्माण गर्नेगरि १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल सरकारले चीनको नाका सम्म जोड्ने सडक आफै निर्माण गरिरहेकोले आयोजनाको लागत केही कम हुन सक्ने अनुमान गरिएको छ । 

एक हजार पाँच सय मिटर मात्रै मुख्य सुरुङमार्ग निर्माण गर्दा २५० मिटरको उचाइ आउने भएकाले जुमखोला आयोजना निकै आकर्षक मानिएको छ।

अडिट टनेलसहित २५ सय मिटर मात्रै सुरुङमार्ग निर्माण हुने आयोजनामा २५० मिटर उचाइबाट पानी खसाएर १४ मेगावाट क्षमताका ४ वटा टर्बाइनबाट ५६ मेगावाट विद्युत उत्पादन हुनेछ।

आयोजनाको उत्पादित विद्युत गर्ज्याङस्थित सवस्टेसनमा जोड्न ३५ किलोमिटर लामो प्रसारण लाइन निर्माण भने निर्माण गर्नु पर्ने हुन्छ।