
इन्द्रनारायण सुबेदी
(शार्दूलविक्रीडित)
-------------------------------------------------------------
सत्ता शक्ति र भाइ बन्धु घरका साला र सालीहरू
झोले नोकर अन्धभक्त सबका सम्झेर तालीहरू
के हो न्याय निसाफ गर्न नहुने अन्याय के हो सब
बेवास्तासँग गर्दथ्यौ मनपरी लाग्दैछ झड्का अब।१।
सारा देश चुसेर तृप्त नहुने जल्लादका नायक
को होला यति मूर्ख तुच्छ घटिया बेमान नालायक
सिङ्गै देश निलेर चित्त नबुझी बेचेर मान्छेहरू
गर्छौ भोगविलास यो दिनदिनै के केअसुल्छौ अरू।२।
तिम्रो कानुन सम्विधान जहिल्यै गर्दै छ तिम्रै भलो
जो जन्मिन्छ नयाँ रहेन घरमा छोड्दै छ जन्मस्थलो
त्यागी हिँड्छ युवा विदेश जब यो छोडेर आफ्नो जिमी
लिन्छौ राक्षस वृत्ति चुस्न पसिना झम्टी उसैको तिमी।३।
बेची मानिस देश नागरिकता गर्छौ तिमी आर्जन
निर्धाको उठिबासमा पनि कतै दुख्दैन तिम्रो मन
प्रायश्चित्त गरी गरी बस तिमी हो जेल तिम्रो घर
सम्झी भ्रष्ट जघन्य कर्तुतहरू ए दुष्ट ए कायर।४।
नेपालपत्र संवाददाता