काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै करोडौँ कराेड रकम भ्रष्टाचार र ठगी गरेको प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई आजथप चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपिएको छ ।
आज दिउसाे काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको हो । यसअघि थप म्याद सकिएपछि आजै आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।
यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले पक्राउ परेका सबै जनालाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जानकारी दिएका छन् ।
अहिलेसम्म नक्कली भुटानी शरणार्थी ठगी र भ्रष्टाचार प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परिसकेका छन् ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ। हाल उनी फरार रहेका छन् । उनका छोरा सन्दीप भने अहिले प्रहरीको हिरासतमा छन् ।
सत्ताधारी गठबन्धन रहकाे दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँण गत वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए । उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् । अझै अरू पिन यस प्रकरणमा तानिने बताइदैछ ।
नेपालपत्र संवाददाता