शनिबार, आश्विन १७ गते २०८३

नक्कली भूटानी शरणार्थी प्रकरण : निष्पक्ष छानबिन र दाेषीमाथि कारबाहीकाे माग गर्दै नागरिक आन्दोलन हुँदै


बैशाख २७, २०८० बुधबार
नक्कली भूटानी शरणार्थी प्रकरण  :  निष्पक्ष छानबिन र दाेषीमाथि कारबाहीकाे माग गर्दै नागरिक आन्दोलन हुँदै

काठमाडौँ । आज दिउसो ३ बजे  नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने भएको छ। भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक आन्दोलनले बुधबार काठमाडौँको भद्रकालीमा प्रदर्शन गर्न लागेको हो।

यस सन्दर्भममाा अमेरिका लैजाने नाममा सयौँ नेपालीलाई भुटानी शरणार्थी बनाउने र अन्तर्राष्ट्रिय मानव तस्करी गर्ने गिरोहमा सामेल भई अर्बौँ रकम असुलीमा मुछिएका पूर्वमन्त्री, सांसद, नेता र कर्मचारीलाई संरक्षण गर्न ठूला दलको शीर्षस्थ नेतृत्वबाट दुष्प्रयास भइरहेको भन्दै नागरिक आन्दोलनले आपत्ति जनाएको छ।

देशमा लोकतन्त्र र नागरिकको जीवनमाथि ठूलो खतराको रूपमा मौलाएको भ्रष्टाचार थप झाँगिने गरी यस ठगी र मानव तस्करी प्रकरणबारे अनुसन्धान र कानूनी कारबाहीलाई निस्तेज पार्ने खालका दलीय चलखेल खेदजनक छ,” नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा चलिरहेको कमाऊ धन्दा र आपराधिक क्रियाकलापलाई उजागर गरेको नागरिक  आन्दोलनकाे  विज्ञप्तिमा उल्लेख छ।

“नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्ने र मानव तस्करी गर्ने गिरोहको दुष्कर्म अर्को एउटा संगठित अपराध हो, जसले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा जारी कमाऊ धन्दा र आपराधिक क्रियाकलापलाई उजागर गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “यस्तो गम्भीर संगठित अपराधको अनुसन्धानलाई पनि पहिलेझैँ दलीय पहुँच र राजनीतिक हस्तक्षेपका आधारमा प्रभावहीन बनाउनु र दोषीलाई संरक्षण गरी उन्मुक्ति दिनु फेरि पनि दण्डहीनताको प्रोत्साहन र कानुनी शासनको बदख्वाइँ हो।”

देशको अर्थतन्त्रलाई धराशायी बनाउने र अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि धूमिल बनाउने नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई निर्मम भएर पारदर्शी तवरले कानूनी कारबाही अगाडि बढाउन सरकारसँग नागरिक आन्दोलनले माग गरेको छ। मानव तस्करको अपराधमा संलग्न राजनीतिक व्यवसायीहरूलाई उन्मुक्तिका लागि दलीय सहमति गर्ने दुष्प्रयास विरुद्ध आमनागरिकलाई सडकमा उत्रिएर खबरदारी गर्न पनि प्रेस बिज्ञप्तिमा अपिल गरिएको छ।