शनिबार, आश्विन १७ गते २०८३

क्यूबा कोरोनाको मारमा परे पनि आफैले बनायो कोरोना खोप

श्रावण ३२, २०७८ सोमबार
क्यूबा कोरोनाको मारमा परे पनि आफैले बनायो कोरोना खोप

Meme.jpg
—लोकनारायण सुबेदी 
क्यूबा पनि बिश्वका अरु धेरै देशहरु जस्तै कोरोना महामारीको शिकार बनेकै छ । तर त्यति हुँदा हुँदै पनि उसले अरु कुनै देशमा बनेको खोप प्रयोग गरेको छैन । आफैले निर्माण गरेको खोपको प्रयोग गरेर कोरोनाबाट जनतालाई बचाउने काम गरिरहेको छ । यस प्रकार क्यारेबियन द्विपमा क्यूबा नै एक मात्र आफ्नै देशमा खोप बिकसित र प्रयोग गर्ने देश बन्न सफल भएको छ । यति बेला क्यूबा एउटा मात्रै होइन पाँचवटा कोरोना खोप बनाउने काम गरिरहेको  छ। उसले त्यो खोपको तेश्रो परीक्षण चलाई राखेको  छ परीक्षणको अन्तिम घडीमा पुगेको छ । 
बिगतको क्यूबाको चिकित्सा सम्बन्धि इतिहास हेर्दा यो त्यत्ति आश्चर्यको कुरा अबश्य पनि होइन कि क्यूबाका बैज्ञानिकहरुले एकसाथ पाँच पाँचवटा खोपको बिकास गर्ने कामलाई अघि बढाइरहेका छन् । ती मध्ये दुइटा खोप स्वीकृतिको अन्तिम चरणमा रहेका छन् । ती खोपमध्ये पहिलोको स्पेनीश नाम ‘सोबराना’ राखिएको छ । जुन अग्रेजी शब्दाबली ‘सोभरेन’को समानार्थी ‘सम्प्रभू’ रहेको छ । हुन त यस श्रृंखलाका अरु दुइटा खोप पनि छन् । अर्को एउटा खोपको नाम भने क्यूबाका देशभक्त क्रान्तिकारी कबि–दार्शनिक खोसे मार्तीको एउटा कबिता ‘एबदाला’को नाममा राखिएको छ । त्यसबाहेक अरु दुइटा खोपको नाम क्यूबालाई स्पेनबाट स्वाधीनता दिलाउने स्वाधीनताका योद्धाहरु नाममा समर्पित गरिएको छ ।
सोभराना–२ खोपको तेश्रो चरणको परीक्षणमा ४४ हजारभन्दा बढी मानिसहरु सामेल भएका थिए । दोश्रो चरणमा ७५ हजार मानिस सहभागी भए । तिनलाई सेण्टर फर स्टेट कण्ट्रोल अफ मेडिसिन्स, इक्वीपमेण्ट एण्ड मेडिकल डिभाइसेसमा पठाइसकेको छ । त्यहाँबाट स्वीकृति भए पछि सार्बजनिक उपयोगका निम्ति ती खोपहरु अस्पतालहरुमा पुग्न थालेका छन् । ती खोपहरुको परीक्षण ईरान र भेनेजुएलामा पनि चलिहरेको  छ । प्रसिद्ध चिनीयाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार बितेको जुलाईको आरम्भसम्ममा ती खोपलाई स्वीकृति प्राप्त भइसकेको थियो । अनि तिनलाई क्यूबाको राजधानी हवानाकासाथसाथै अन्य प्रान्तहरु जस्तै पिनार डेल रियो, मताञ्जाज, शान्तियागो द क्यूबा र आइला द ला जुबेण्टिडको बिशेष म्युनिसिपालिटीमा पठाइदै गरेको थियो । बिश्वका क्यूबालाई चिनेका देशका नागरिकहरुले भनिरहेका छन् क्यूबाबाट आत्मनिर्भरताको पाठ सिक्नु पर्दछ । आत्मनिर्भरताको प्रोपोगण्डा गर्नुभन्दा ब्यवहारमा यसलाई कार्यान्वयन गर्नु धेरै कठिन छ । तर यति दृढ इच्छाशक्ति छ भने कसैको मद्दत बिना पनि थोरै र दुर्लभ श्रोतसाधनबाट समेत सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा क्यूबाले देखाइरहेको  छ।

cubacoronavac.jpg
क्यूबाको जन स्वास्थ्य मन्त्रालयको एउटा बिज्ञप्तिका अनुसार हवानामा कोभिड – १९ को संक्रमणको सामना गर्नका लागि सार्बजनिक खोप अभियान जारी रहेको  छ । यो खोप अभियान क्यूबाको एउटा अर्को स्वनिर्मित खोप ‘एबदाला’बाट प्रारम्भ भएको हो । खोप अभियानको पहिलो चरणमा  स्वास्थ्यकर्मीहरु र बिद्यार्थीहरुलाई खोप लगाइएको थियो । हवानको प्रान्तीय रक्षा समितिको बैठकमा यो निर्णय लिइएको थियो । हवाना शहरको पन्ध्रवटा नगरनिगम क्षेत्रहरुमा चार लाख नागरिकहरुलाई यो खोप लगाउन थालिएको थियो । क्यूबाका स्वास्थ्य मन्त्री जोश एंजल पोर्टलले भने कि चाँडै नै यस कार्यक्रमलाई दोश्रो खोप ‘सोभराना’– २ को उपयोग गरेर हवानाका बाँकी नगरनिगम क्षेत्रहरुमा पनि खोप लगाउने काम गरिने छ । उनले के पनि जानकारी दिएका थिए भने तीनवटा अरु खोपहरु क्याण्डिडेट सोभराना–१, सोभराना प्लस र माम्बिसा परीक्षणको अन्तिम चरणमा पुगेका छन् । तिनको चाडै नै बृहत उत्पादन प्रकृया शुरु गरिने छ । यसै सन्दर्भमा आर्कोतिर हवानाको एक प्रसिद्ध   ‘फिनले इस्टिच्यूट अफ भ्याक्सिन इन हवाना’ का महानिर्देशक एबं प्रख्यात बैज्ञानिक डा. भिसेण्ट बेरेज भेनकोमोले जून महिनामा लण्डनबाट निस्कने बिख्यात बिज्ञान जर्नल ‘नेचर’सँगको एउटा साक्षात्कारमा भनेका थिए कि एडभान्स भ्याक्सिन क्याण्डिडेट सोभराना–२, एबदाला र माम्बिसा परीक्षणको तेश्रो चरणमा छन् । यहाँ स्पष्ट के गर्नु आवश्यक छ भने सोभराना–२ एउटा बहुतै उन्नत र प्रभाबकार िखोप हो जुन कम संक्रमित र अधिक संक्रमित दुबै मानिसहरुमा उत्तिकै  प्र्रभाबकारी साबित भएको छ । यसमा कोरोना भाइरसको ‘स्पाईक’ प्रोटीनका साथसाथै ‘डिएक्टिभेटेड टिटेनस’ टक्सिन पनि मिलाइएको छ, जसबाट शरीरमा शक्तिशाली प्रतिरक्षा कोषिकाहरुको निर्माण हुन्छ । यो खोप दक्षिण अफ्रिका, ब्राजिल र बृटेनको भ्यारिएण्ट तथा अन्य कतिपय स्ट्रेनमा समेत प्रभावकारी साबित भएको छ ।डा. बेनकोमोले यस अघि २०१२ मा आफ्नो टिमको साथ लिएर हेपोटाइटिस –बी खोपको पनि खोज गरिसकेका हुन् । 
 करीब १ करोड १५ लाख मात्र मानिसको जनसंख्या भएको यो सानो देशमा कतिपय यस्ता बिशेषताहरु छन् जसका कारणले त्यो देशको स्वास्थ्य सेवा प्रणाली(हेल्थ केयर सिस्टम)लाई पूरै बिश्वमा प्रसंशा गर्ने गरिन्छ । बिश्व स्वास्थ्य संगठन(वल्र्ड हेल्थ अर्गनाइजेशन)ले पनि के मानेको छ भने क्यूबाको स्वास्थ्य सुबिधाहरुबाट बिश्वका अन्य देशहरुले धेरै कुरा सिक्न सक्दछन् । सरकारी तथ्यांकका अनुसार हालसम्म झण्डै ६० देशहरुमा क्यूबाका ३० हजार डाक्टरहरुले सेवा प्रदान गरिरहेका छन् । क्यूबामा आज १५५ जना मानिसलाई १ जना डाक्टर उपलब्ध छ जुन उन्नत मानिएको इटाली र अमेरिकाभन्दा बढी राम्रो स्वास्थ्य सेवा तथ्यांक हो । राम्रा स्वास्थ्य बिशेषताहरुका कारणले क्बूबाले आफ्नो देशमा लामो समयदेखि बिश्वका कयौं डाक्टरहरुलाई निरन्तर तालिम र प्रशिक्षण प्रदान गर्दै पनि आएको छ ।
 क्यूबामा ल्याटिन अमेरिकन स्कूल अफ मेडिसिनमा चिकित्सकहरुलाई प्रशिक्षण दिने गरिन्छ । सन् १९९८ देखि अहिलेसम्म त्यहाँ १२३ देशका डाक्टरहरुले प्रशिक्षण पाइसकेका छन् । संयुक्त राष्ट्र संघका पूर्ब महासचिव बान की मूनका अनुसार क्यूबाको मेडिसिन स्कूल, ल्याटिन अमेरिकाको स्कूल अफ मेडिसिन बिश्वका सबैभन्दा आधुनिक मेडिकल स्कूल हुन् । यही कारण गर्दा नै क्यूबाको मेडिकल सेवा सुबिधालाई ‘क्यूबान मोडल’ भनेर बिश्वमा चिनिन्छ । यद्यपि त्यहाँ बायो–टेक उद्योगको आरम्भ १९८० मात्र शुरु भएको थियो ।
 बिदितै छ कि २०२० को मार्चमा जतिबेला यूरोपेली देशहरु कोरोना महामारीसँग लडिरहेका थिए र बिश्वभरीका बिज्ञ स्वास्थ्यकर्मीहरु त्यहाँ जान डराइरहेका थिए तर क्यूबा जस्तो सानो देशले आफ्ना बिशेषज्ञ चिकित्सकहरुको टोली यूरोपका अतिरिक्त भेनेजुएला, निकारागुआ, जमैका र सुरीनामा पठाएर स्वास्थ्य सेवा प्रदान गरेको थियो, जहाँ कोरोनाले ठूलो ताण्डब मच्चाइरहेको थियो  ।  बास्तवमा यो बिडम्बना नै हो कि त्यहाँ बिशेषज्ञता प्राप्त डाक्टरहरु त छन् तर आर्थिक स्थिति कमजोर छ । त्यसैले क्यूबाबाट अन्य बाहिरी देशमा डाक्टरहरुलाई पठाउनाले त्यो देशको  अर्थब्यवस्थालाई केही आर्थिक सहयोग पनि पुग्दछ । यस बारेमा अमेरिकी इकोनोमिक इण्टेलिजेण्ट यूनिटका बिशेषज्ञ मार्क केलरको के मान्यता छ भने जतिबेला भेनेजुएलामा १९९८ मा आन्तरिक कलह अमेरिकी षडयन्त्रले गर्दा शुरु भयो त्यतिबेला भेनेजुएला र क्यूबाले एक अर्कालाई मद्दत गर्न थाले । तेलको सबल राष्ट्र भेनेजुएलाले क्यूबालाई पैसा र तेलले मद्दत दिन थाल्यो भने त्यसको साटोमा क्यूबाले भेनेजुएलालाई डाक्टर र खेल प्रशिक्षक पठाएर मद्दत दिन थालेको थियो ।
 क्यूबाका डाक्टरहरुले जब ग्रेजुएशन गरिसक्छन् तब उनीहरुलाई यस्तै कुनै देशहरुमा पठाउने गरिन्छ जहाँ संक्रामक बिमारी फैलिएको हुन्छ या अन्य कुनै बिमारीका लागि डाक्टरहरुको आवश्यकता पर्दछ । प्रायःजसो ती डाक्टरहरुले त्यहाँ एक दुइ बर्ष चिकित्सा सेवा प्रदान गर्ने गर्दछन् । संक्रमित स्थानमा जानुभन्दा पहिला क्यूबाका अस्पतालले उनीहरुलाई कडा तालिम गराउँदछ जसमा ब्यक्तिगत स्वास्थ्य सुरक्षामा ध्यान राख्ने कुरा सर्बोपरी हुन्छ । त्यसका अतिरिक्त उनीहरुलाई उनीहरु जाने र सेवा दिने देशको भाषा, खानपिन र सँस्कृतिका बारेमा पनि आबश्यक न्यूनतम ज्ञान दिइने गरिन्छ । 
 त्यहाँका मेडिसिन स्कूललाई बिश्वको अत्याधुनिक र राम्रो मेडिकल स्कूल मानिन्छ भन्ने कुरा माथि नै पनि आइसकेको छ । अमेरिकाभन्दा ९० किलोमिटर मात्र टाढा रहेको बिश्वको यो एउटा सानो टापु देशले अमेरिकाबाट कोरोना खोप लिनुको साटो आफ्ना लागि आफै कोरोना खोप बनाएर उपचार गर्न गराउन सफल भएको छ र अरुलाई पनि खोप दिएर मद्दत गरिरहेको  छ । यो सानो देश क्यूबाका लागि गौरबको कुरा त हुँदै हो । क्यूबाबाट शिक्षा लिन चाहनेहरुका लागि पनि ठूलो प्रेरणाकाे श्रोत हो ।