शनिबार, आश्विन १७ गते २०८३

महिला सदस्यमा उद्यमशीलता विकास गर्दै लक्ष्मी महिला साकोस


बैशाख १७, २०८० आइतबार
महिला सदस्यमा उद्यमशीलता विकास गर्दै लक्ष्मी महिला साकोस


पनौतीको चौकोटमा मुख्य कार्यलय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्न लागिपरेको छ । विभिन्न तालिमको माध्यमबाट उनीहरुमा सिप विकास गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने उदेश्यका साथ संस्थाले एक पछि अर्को तालिम सदस्यहरुलाई दिँदै आएको छ । यस अघि कृषिसँग सम्बन्धित, खेलौना बनाउने, अचार बनाउने, लप्सीको माड बनाउने क्रिष्टलको माला बनाउने जस्ता थुप्रै तालिम सदस्यहरुलाई प्रदान गरिसकेको संस्थाले हालै मात्रा मखमलको जुता बनाउने तालिम दिएको हो । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गरी आयआर्जन गर्न सकुन् भन्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले जानकारी दिए । 

तालिमका लागि मात्र तालिम भन्दापनि सदस्यमा सीप विकास गरी उद्यमी बनाउने र आर्यआर्जनमा लगाउने उदेश्यका साथ तालिम दिइएको उनको भनाई छ । सदस्यहरुलाई पहिलो चरणमा आधारभुत तालिम दिइएको र आवश्यकता अनुसार एडभान्स तालिम पनि सञ्चालन गरिने उनले जनाए । सदस्यहरु उद्यमी बन्ने र तालिमपछि व्यवसायमा लाग्ने पक्का गरेर मात्र तालिममा सहभागी गराइएको उनको भनाई छ । तालिम सञ्चालन गर्नु पूर्व संस्थाले ३५ जना सदस्यसँग छलफल गरेको र २० जनाले तालिम पश्चात् व्यवसाय सञ्चालन गर्ने पक्का गरेपछि मात्र तालिममा सहभागी गराइएको थियो । आधारभूत तालिम संस्थाकै लगानीमा सञ्चालन गरेको र एड्भान्स तालिमका लागि भने नगरपालिकामा पनि प्रस्ताव पेश गरेको उनले जानकारी दिए । संस्थाले सञ्चालन गरेको तालिमप्रति नगरपालिकाबाट पनि सकरात्मक प्रतिक्रिया आएको र एड्भान्स तालिम सञ्चालनको लागि आर्थिक सहयोग गर्ने आश्वासन दिएको उनले बताए । 

नगरपालिकाकै महिला सदस्यलाई उद्यमी बनाउने कार्य भएकाले सहयोग प्राप्त हुनेमा आफु आशावादी रहेको उनले जनाए । तालिम पश्चात् व्यवसाय शुरु गर्नेहरुलाई ३ देखि ५ लाखसम्म सहुलियत व्याजदरमा ऋण लगानी गर्ने संस्थाले जनाएको छ । तालिमबाट सहभागीहरु उत्साहित भएको र सामुहिक रुपमा व्यवसाय गर्ने सहभागिहरुले जनाएका छन् । संस्थाले चैत्र २३ गते देखि शुरूवात गरेको आधारभुत मखमलको जुत्ता बनाउने तालिम हालै सम्पन्न गरेको हो । तालिम सर्मिला अधिकारीको  संयोजकत्व भएको थियो ।  संस्थाकी अध्यक्ष  मैयाँ महतको प्रमुख आतिथ्यता र  प्रशिक्षक रिता कर्मचार्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षण कर्माचार्यले  जुन सुकै समयमा पनि महिला दिदिबहिनीहरुले गर्न लाग्नु भएको कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त  गरिन् । 

त्यसैगरी  अध्यक्ष महतले संस्थाबाट लिएको तालिम उद्यमी बन्नका लागि लागू गर्न आग्रह गरिन् ।  समुदायका महिला दिदिबहिनीहरुलाई सकृय बनाइ यस्ता कार्यक्रम संचालन गरिने उनले बताईन । समापन कार्यक्रममा संयोजक अधिकारीले परिवर्तनको सोच लिएर  महिला दिदिबहिनीहरुलाई अघि बढ्न र उद्यमी बन्ने लक्ष्यमा लाग्न सुझाइन् ।  आफूले जुनसुकै समयमा संस्थागत एवं ब्यक्तिगत रुपमा पनि महिला उत्थान गरी आत्मनिर्भर एंव उद्यमी बनाउन सहयोग गर्न तत्पर रहेको  उनले बताइन्।

mahila 1.jpg