शनिबार, आश्विन १७ गते २०८३

अर्थतन्त्रमा उत्पन्न समस्या समाधानका लागि परिसंघ र महासंघबीच ऐक्यवद्धता


बैशाख १७, २०८० आइतबार
अर्थतन्त्रमा उत्पन्न समस्या समाधानका लागि परिसंघ र महासंघबीच ऐक्यवद्धता

 

मुलुकको अर्थतन्त्रका देखा परेका विद्यमान समस्या समाधान गर्न नेपाल उद्योग परिसंघ र उद्योग वाणिज्य महासंघका पदाधिकारीले ऐक्यवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गर्न नेपाल उद्योग परिसंघद्वारा आयोजित कार्यक्रममा उनीहरुले त्यस विषयमा ऐक्यवद्धता जनाएका हुन् ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमितिका सदस्यहरुलाई स्वागत गर्दै बधाइ ज्ञापन गरेका थिए ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनुपर्ने बताए । निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरु मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने जनाए । अर्थतन्त्रमा सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन, विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने औंल्याए । निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयहरुलाई सरकारले गम्भिरता पूर्वक लिएको बताउनुहुँदै समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायहरुसहित सरकारलाई सुझाउनुपर्ने उल्लेख गरे । परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारी रुपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान उपायहरु खोज्नुपर्ने जनाए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए ।