शनिबार, आश्विन १७ गते २०८३

सबै भन्दा बढी विप्रेषण भित्र्याएको भन्दै हिमालयन बैंक सम्मानित


बैशाख १७, २०८० आइतबार
सबै भन्दा बढी विप्रेषण भित्र्याएको भन्दै हिमालयन बैंक सम्मानित

 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बंैक लिमिटेडलाई सम्मानित गरेको छ ।

राष्ट्र बैंकको ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजित एक समारोहमा गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् । हिमालयन बैंकले आ.व. २०७८।७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमालरेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुविधा प्रदान गरी अग्रस्थानमा रहँदै आएको छ । बैंकले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रित प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ ।

हाल बैंकले देश भरि फैलिएका हिमाल रेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देशैभर रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम.मार्फत ग्राहकहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।