काठमाडौं । आज नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले एकता अधिवेशन गरी पार्टी एकता प्रक्रिया टुंग्याएका छन् । अधिवेशनले एकीकृत पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल’ चयन गरेको छ ।
अनामनगर स्थिति इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न एकता अधिवेशनले २६७ जनाको महाधिवेशन आयोजक समिति अधिवेशन, ८७ सदस्यीय सचिवालय समेत बनाएको छ । अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) पर्सी १८ गते आगमी सोमबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी पार्टी एकताको घोषणा गर्ने समेत निर्णय गरेको छ ।

गौरवको अध्यक्षता र सुदर्शनको सञ्चालनमा सम्पन्न अधिवेशनमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण र नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको संक्षिप्त चर्चा गर्दै पार्टी एकताको सम्बन्धमा गरिएको समझदारीका बारेमा मन्तव्य राखेका थिए ।

एकता अधिवेशनमा कञ्चनले राजनीतिक प्रतिवेदन र राजवीरले विधान प्रस्तुत गरेका थिए भने संगठनात्मक प्रस्ताव अधिवेशनका अध्यक्ष गौरवले गरेका थिए । विधान, प्रतिवेदन र संगठनात्मक प्रस्ताव हलले ताली बजाएर पारित गरेको थियो ।
एकता अधिवेशनको अन्तमा प्रितमले समसामयिक प्रस्ताव प्रस्तुत गरे भने नवगठित पार्टीको अध्यक्षको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
नेपालपत्र संवाददाता