शनिबार, आश्विन १७ गते २०८३

एक वर्षमा बनेन ‘जनता आवास’ उपभोक्ताको बास छिमेकीको घरमा


बैशाख १५, २०८० शुक्रबार
एक वर्षमा बनेन ‘जनता आवास’ उपभोक्ताको बास छिमेकीको घरमा

NCF conference.jpg

 शहबाज खान

कपिलवस्तु । जनता आवास निर्माणमा ढिलासुस्ती भएपछि उपभोक्ताहरुलाई ठूलाे समस्या भएको छ । समयमै जनता आवास निर्माण नभएपछि उनीहरुले त्रिपाल मुनि बस्न बाध्य भएका छन् । प्रदेश सरकारको कार्यक्रम अन्तर्गत गरीब, घरपरिवारका लागि जनता आवास कार्यत्रममार्फत पक्की घर निर्माण गर्दै आएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर १ छिटौनी गाउँमा जनता आवास निर्माणमा ढिलाइ भएको पाइएको छ । गत आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माण कार्य शुरु भए पनि हालसम्म पूर्ण निर्माण कार्य सम्पन्न भएको छैन ।

garibghar.jpg

 निर्माण कार्य समयमा सम्पन्न नभएपछि लामो समयदेखि घासफुसको छाप्रो र त्रिपाल मुनि बस्न बाध्य भएको उपभोक्ताले गुनासो गरेका छन् । जनता आवास उपभोक्ता सत्तन पासीका अनुसार भवन निर्माण कार्य पहिलो चरणदेखि विजय पाण्डेले गरि रहेको बताए । उनले एक वर्ष बिति सक्दा पनि हालसम्म भवन पूर्णरुपले निर्माण नभएको बताए । निर्माण कार्य ढिलासुस्तीले हामी घरबिहीन भएको भन्दै दुखसमेत पोखे । उनले भने “हामी घर बिहीन भएका छाैं । कसले बुझ्ने हो हाम्रो दुःख ? हावाहुरी पानी पर्दा आफ्नो बालबच्चा र खाने, पिउने सामान लिएर छिमेकीहरुको घरमा बस्नु पर्ने स्थिति रहेको छ ।” उनले विजय पाण्डेलाई पटक–पटक भवन निर्माण कार्य सम्पन्न गर्नको लागि अनुरोध गरे पनि नसुनेको बताए । उनले बैंक खाताको चेकबुक विजय पाण्डेले आफै राखेको आरोपसमेत लगाए ।

garibjanata.jpg

 बैँकबाट पैसा निकालने बेला इन्जिनियर र विजय पाण्डे आएपछि चेक र अन्य कागजहरुमा हस्ताक्षर गराएर पैसा निकाल्ने गरेको उनले बताए । गत आर्थिक वर्षमा भवन निर्माण कार्य शुरु गरे पनि हालसम्म दुई चरणको मात्रै भवन निर्माण कार्य सम्पन्न भएको सब-ओभरसेयर गोपाल क्षेत्रीले बताएका छन् । गत आर्थिक वर्षको भवन निर्माण कार्य हालसम्म बाँकी नहुनु पर्ने तर उपभोक्ताहरुको ढिला सुस्तीको कारणले निर्माण कार्य सम्पन्न हुन नसकेको उनले बताए । उनले छिटै निर्माण कार्य सम्पन्न गरी भुक्तानी गर्नका लागि पटक–पटक जानकारी गराउँदै आएको सब-ओभरसेयर क्षेत्रीले बताए । जनता आवासको भुक्तानी उपभोक्ताको (सम्बन्धित व्यक्ति) को बैंक खातामा जान्छ ।

Ghargaribko.jpg

चार चरणमा काम गरे वापत चार चरणमा भुक्तानि पनि हुने गर्छ । कृष्णनगर क्षेत्रमा गत आर्थिक वर्षमा निर्माण कार्य शुरु भएको भवन मध्ये १० वटा भवन अधुरै रहेको उक्त कार्यालयका सुपरभाइजर जनार्दनले बताए । गत वर्षको निर्माणधीन रहेको जनता आवासलाई छिटै तयार गर्न पटक–पटक विजय पाण्डेलाई भनेको सुपरभाइजर जनार्दनको भनाइ छ । लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रम सञ्चालंन गरी गरिब, अति विपन्न जनता पहुँच नभएको परिवारलाई पक्की भवन निर्माण गरी सुखी र सुरक्षित बास बस्ने व्यवस्था गर्ने उद्धेश्यले जनता आवास कार्यक्रम लागु गरेको छ । विचौलियाहरुको कारणले गरीब र निमुखा जनता आफ्नो बालबच्चा, आफ्नो परिवारले सुखी र सुरक्षित बास बस्न पाउन सकेका छैनन् । विजय पाण्डे पूर्व प्रदेश सभा सदस्य, विरेन्द्र कानोडियाका नजिकक रहेको स्थानीयले बताउँछन् ।

gharjanata.jpg