बुधबार, भाद्र ३ गते २०८३

१५ अगष्ट, भारतीय स्वतन्त्रता दिवसकाे ७५औं वर्षः नेपाल-भारत जन मैत्री अमर रहोस् !

श्रावण ३१, २०७८ आइतबार
१५ अगष्ट, भारतीय स्वतन्त्रता दिवसकाे ७५औं वर्षः  नेपाल-भारत जन मैत्री अमर रहोस् !
भारतीय स्वतन्त्रता दिवस १५ अगस्टकाे ७५औं बर्ष प्रबेशकाे अवसर 
 
भारतको ७५औं स्वतन्त्रता दिवस हो आज १५ अगस्टको दिन । यो स्वतन्त्रताको महायात्रामा भारतीय जनताले अत्यन्तै ठूलो संघर्ष गरेका हुन् र कुर्वानी दिएका हुन् । आज साढे सात दशक पुगेकाे १५ अगस्ट १९४७ मा प्राप्त स्वतन्त्रता दिवस यताको महत्वपूर्ण कालखण्डमा भारतले जे जति प्रगति गरेको र बिश्व शक्तिमा दरिन लागेको कुरा गरे पनि अझै पनि करोडौं करोड भारतीय जनताको अत्यधिक ठूलो संख्या  गरीबी, अभाव, भोकमरी, अशिक्षा, निरक्षरता, स्वास्थ्य सेवाको नाजुक स्थिति आदि बिभिन्न कारणले सबैका मन मस्तिष्कमा गम्भीर प्रश्न खडा हुन्छ । खाशगरी करौडौ सीमान्तीकृत भारतीय जनताको बिपन्न तप्का आज पनि इज्जतकासाथ जीवन गुजारा गर्न सक्ने स्थितिमा पुग्न सकेको छैन । जातीय बिद्वेष र दंगाले बारम्बार भारत आक्रान्त हुने गरेको छ । बहुसंख्यक भारतीय जनताको अर्थ-सामाजिक स्थिति स्वतन्त्रताको पच्चहत्तर  बर्ष पुगिसक्दा पनि नाजुक, अनिश्चित र भयावह नै छ । यो कटु सत्यलाई कसैले अस्वीकार गर्न सक्तैन । हो, भारत परमाणु शक्ति भएको छ । अन्तरिक्षमा पनि पुगेको छ । सूचना प्रबिधिको क्षेत्रमा ठूलै छलाङ नै मारेको छ । कृषि क्षेत्रमा पनि उल्लेखनीय र ठूलो प्रगति हासिल गरेको छ । तर अहिले पनि भारतीय किसानहरू समस्याग्स्त र संघर्षरत रहेका छन् । मानबीय क्षेत्रमा स्वाधीनता पछिको यत्तिका बर्षमा जत्तिको प्रगति हुनुपर्ने हो त्यसो हुन नसकेको कटु यथार्थ भारतमा बिद्यमान छ ।
 
बिश्व इतिहासमै भारतीय स्वतन्त्रताको आन्दोललाई पनि अत्यन्तै महत्वपूर्ण मानिन्थ्यो र मानिन्छ । तथापि बृटिश साम्राज्यवादबाट मुक्त भएको भारतले भारतीय जनता खाशगरी बिपन्न बर्गका करोडौं जनताको हितमा यो स्वतन्त्रतालाई सही किसिमले प्रयुक्त गर्न अझै सकेकाे छैन । बृटिश साम्राज्यवादको 'फुट पार र शासन गर' नीति अन्तरगत भारतबर्षलाई भारत र पाकिस्तानमा बिभक्त गरेको पनि यही स्वतन्त्रताको आन्दोलनको उत्कर्षकै बेला हो । यो काम बृटिश साम्राज्यवादले भारतमा मात्र गरेको होइन बृटिश-अमेरिकी साम्राज्यवादले चीन, भियतनाम, कोरिया हरेक देशलाई बिभाजनको बोझ बोकाएर छोडेको इतिहास साक्षी छ । यो साम्राज्यवादी परम्परा र प्रबृत्तिबाट स्वयम भारत कत्तिको मुक्त भयो यो पनि आजसम्म चासो र चर्चाकै बिषय बनिरहेकै छ । किनकि भारतको वरिपरीका छिमेकी देशहरुसँगको सम्वन्ध भन्ने गरिए जस्तो सुमधुर र बिश्वसनीय छैन । यद्यपि सुल्झाउनै नसकिने समस्याहरु भने ती छैनन् । केही बर्ष अघिकाे भारत र बंगलादेश बीचको सीमा सम्बन्धि पारस्परिक सहमति र समझतौताले पनि यो कुरा प्रष्ट पारेको हाे । तर पनि भारत भौगोलिक र साँस्कृतक परम्पराले जति बिशाल छ त्यत्तिकै बिशाल छाती त्यहाँका शासकहरुसँग देखिएको छैन । जसले गर्दा छिमेकी देशहरुसँगको सम्वन्धमा बृटिश बिरासतले नै काम गरिरहेको त छैन भन्ने प्रश्न उठ्ने गरेको छ ।
 
नेपाली जनता भारतसँग सुमधुर, सार्थक र सक्रिय सुसम्वन्ध कायम होस् भन्ने चाहन्छन् । भारत र नेपालका जनताका बीच युगौ पुरानो मैत्री भाव पनि निरन्तर कायम छ । आधुनिक नेपाल र भारतको इतिहास हेर्ने हो भने बृटिश साम्रज्यवादका बिरुद्ध दुबै देशका जनताले एक अर्कोर्लाइ सहयोग पुर्‍याएका एेतिहासिक महत्वका घटनाहरुको उल्लेख गर्न सकिन्छ । भारतीय स्वतन्त्रता संग्राममा स्वयं नेपालका नेताहरु पनि सक्रिय रहेको र बृटिश भारतले भारतीय स्वतन्त्रता सेनानीहरुलाई जेलनेल दिएर नेपालको राणा सरकारले थुनामा राख्दा नेपाली जनताले ती नेताहरुलाई जेलमुक्त गर्न, आश्रय दिन र सानोतिनो भए पनि सहयोग गर्न अग्रसर भएको र योगदान दिएको इतिहास छ । त्यस्तै राणा शासनबाट नेपाललाई मुक्त गर्न भारतीय जनताले पनि सहयोग गरेका हुन् । यद्यपि स्वतन्त्रता पछिकाे दुइ देश बीचको सम्वन्ध अपेक्षित किसिमले बिश्वासिलो र भरपर्दो बन्न सकेको छैन । सीमा बिवाद, कालापानी क्षेत्रको बिवाद र हालैको नेपालको लिपुलेकमाथिको हस्तक्षेपको बिवादले समेत नेपाल र भारत बीचको सम्वन्धमा ठूलो सन्देह खडा गरिरहेको छ । ऐतिहासिक दस्ताबेजहरु लगायत सबै आवश्यक तथ्य प्रमाणका आधारमा बैज्ञानिक किसिमले सीमा बिबाद समाप्त गर्ने, नेपालका महवपूर्ण श्रोत साधनहरु नेपालको हित हुने गरी मात्र परिचालन गर्ने र नेपाल र भारतका जनताका बीचको पारस्परिक जन-मैत्री सम्वन्धलाई अझ प्रगाढ तुल्याउने प्रष्ट र पारदर्शी नीतिकासाथ अघि बढ्न सके मात्र भारतीय स्वतन्त्रता संग्रामको मर्म र भावनालाई सही र सार्थकरुपमा साकार तुल्याएको ठहरिने छ । १५ अगस्टको स्वतन्त्रता दिवस ७५ बर्ष लागेकाे पुनीत अबसरमा भारतीय जनतामा उत्तरोत्तर प्रगतिको हार्दिक शुभ कामना ! नेपाल भारत जन-मैत्री अमर अमर रहोस् !