रामेछापमा रहेका सहकारी संस्थामा पर्याप्त तरलता रहे पनि सदस्यबाट ऋण माग आएको छैन । अन्य जिल्लाका सहकारी संस्थाहरु वित्तीय रुपमा संकटमा रहेका बेला रामेछापका सहकारीमा भने पर्याप्त तरलता रहेको छ ।
संस्थाहरु पर्याप्त तरलता लिएर बसेको भए पनि विश्व अर्थतन्त्रमा आएको मन्दीसँगै मुलुकको अर्थतन्त्रमा आएको शिथिलताका कारण व्यापार व्यसायमा कमी आउँदा ऋण माग नभएको सहकारीकर्मी बताउँछन् ।
जिल्लामा रहेका अधिकांश सहकारी संस्थाले प्रयाप्त तरलता लिएर बसेकाले अहिलेसम्म कुनै संस्थालाई बचत फिर्तामा समस्या नभएको सहकारीकर्मीले जानकारी दिए।
रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले वित्तीय अनुशासनमा रहेका सहकारी संस्थामा बचत वृद्धि हँुदै गएको बताए । जिल्लामा रहेका सहकारीले अहिलेसम्म बचत फिर्ता गर्न नसकको गुनासो सदस्यबाट नआएको र वित्तीय अनुशासनमा रहेर कारोबार गर्दै आएका सहकारीमा तरलता पनि राम्रो रहेको उनले जानकारी दिए ।
‘बजारमा आएको मन्दीका बाबजुद पनि यहाँका ठुला सहकारी संस्थाले तरलता व्यवस्थापन गर्न सकेका छन्,’ उनले भने ‘संस्थागत सुशासन र वितीय अनुसानमा बसेका सहकारीमा कुनै समस्या छैन । सदस्यको आकर्षण बढिराखेको छ र बचत फिर्ताको कुनै समस्या छैन ।’
पर्याप्त वित्तीय ज्ञान नभएका र बचत ऋणको कारोवार गर्ने उदेश्य नभएपनि बचत ऋणको कारोबार गरिरहेका साना संस्थामा सामान्य समस्या रहेपनि अन्य जिल्लामा जस्तो बचत नै फिर्ता गर्न नसक्ने अवस्था नरहेको उनको भनाई छ । जिल्लामा ४ सय ५० संस्था दर्ता रहे पनि १२५ सहकारी सक्रिय छन् । जिल्लाका सहकारीले ५ अर्बको हारहारीमा बचत परिचालन गरेको हुन सक्ने उनको भनाई छ ।
मुलुक संघीयता गएपछि सहकारीको नियमन पनि तीन तहमा गएको भन्दै उनले स्थानिय सरकारले सहकारीलाई प्राथमिकतामा नराखेको बताए । दक्ष जनशक्तिको अभाव एवं सहकारीको विकास र प्रवर्धनमा ध्यान नदिँदा सहकारीम समस्या आउन सक्ने भन्दै स्थानिय सरकारले सहकारीकोे नियमन तथा अनुगमनका साथै प्रवर्धनका लागि बजेटको व्यवस्थापन गर्नुपर्ने उनको आग्रह छ । सहकारीको प्रवर्धनको लागि तल्लो सरकारले अहिलेसम्म कुनै बजेट व्यवस्था नगरेको उनको भनाई छ । नीति, विधिमा रहेर सदस्यकेन्द्रित भएर कारोवार गरे सहकारीमा समस्या नआउने उनको दावी छ ।
नेफ्स्कून फिल्ड कार्यालय रामेछापका प्रमुख एवं वरिष्ठ अन्तर लगानी सहायक सुर्यबहादुर थापा संस्थाहरुमा पर्याप्त तरलता रहेको र सदस्य संस्थाबाट ऋणको माग नै नआएको बताउँछन् । नेफ्स्कून फिल्ड कार्यालयमा ५७ वटा संस्था आवद्ध रहेको र ती संस्थाबाट ४७ करोड बचत संकलन भएको छ । फिल्ड कार्यालयले अधिकतम ३ करोड सम्मको ऋण लगानी गर्ने सक्ने भए पनि संस्थाहरुबाट ऋण माग नआएको उनले जनाए । ‘जिल्लामा रहेका संस्था समस्यामा छैनन्’, उनले भने, ‘सबै संस्थाले राम्रोसँग तरलता व्यवस्थापन गरेर बसेका छन् । नेफ्स्कूनले ऋण लगानी गर्न चाहे पनि माग नै छैन ।’ प्रायजसो संस्थाहरुले पर्याप्त तरलता लिएर बसेकाले सानोतिनो ऋणको माग पनि नआएको उनले बताए ।
आर्थिक मन्दीका कारण व्यवसाय चलायमान नहुँदा सदस्यहरु व्याज खाएर बसेका छन् । ऋण लिएर व्यवसाय गर्ने अवस्था छैन, लगानी जोखिममा पर्न सक्ने डरले ऋणको माग घटेको हुनसक्ने थापाको भनाई छ । जिल्लामा संकलन भएको बचत त्यहाँ परिचालन नभएपछि केन्द्रमा पठाउने गरेको र केन्द्रले जहाँ आवश्यक छ, त्यहाँ लगानी गर्ने गरेको उनले बताए । कार्यालयले संघमा आवद्ध सदस्य संस्थाहरुलाई सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन र बजार प्रतिनिधि र अग्रभागका कर्मचारीलाई लक्षित गरी तालिम प्रदान गरेको छ । संघले संस्थाहरुलाई सबल र सक्षम बनाउन विभिन्न तालिम तथा शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
त्यसैगरी मन्थली बजारमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रमेश कुमार उदास संस्थाको विभिन्न वित्तीय संस्थामा रहेकाे रकम समेत गरी ३० प्रतिशतकाे हाराहारीमा तरलता रहेकाे बताउँछन् । सदस्यको परियोजना हेरेर संस्थाले ऋण लगानी गर्न सक्ने भए पनि बजारमा आएको मन्दीका कारण सदस्यबाट ऋणको माग खासै नआएको उल्लेख गरे । विगतमा संस्थाले एउटा सदस्यलाई ९२ लाखसम्म ऋण लगानी गर्दै आएको भए पनि अहिले ५० लाखसम्म ऋण लगानी गर्ने गरेको छ । संस्थाले व्यापार व्यवसाय र उत्पादनमूलक क्षेत्रलाई ऋण लगानीको लागी प्राथमिकतामा राखेको छ । कृषिमा ससानो ऋणको माग भएको र अन्य ऋण भन्दा १ प्रतिशत न्युन व्याजदरमा ऋण दिने गरेको व्यवस्थापक उदासले बताए ।
रामेछापमा सहकारीप्रति सदस्यको विश्वास बढ्दै गएको र बैंकमा भन्दा सहकारीमा बढी बचत आउने गरेको उनको भनाई छ । ‘सदस्यसँग भएको स–सानो बचत सहकारीमा नै ल्याउने गरेका छन्’,उनले भने, ‘बचत संकलनमा कतिपय बैंकका शाखा भन्दा सहकारी अगाडि छन् ।’ सहकारीले घर घरमा गएर सेवा दिएका छन्, प्रविधिको पनि प्रयोग बढाएका छन्, सदस्यसँग भेटघाट र वित्तीय साक्षरताका कार्यक्रम चलाएर उनीहरुमा बचतको महत्व बढाएका छन् । दुःखसुखको साथी सहकारी भएका छन्’ ,उनले भने ‘यसले गर्दा सहकारीप्रति सदस्यको विश्वास बढेको छ ।’
मन्थली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भेष बहादुर श्रेष्ठ संस्थामा १६ हजार सदस्य आवद्ध रहेको बताउछन् । संस्थाले यस बर्षदेखि जिल्लाभर कार्याक्षेत्र विस्तार गरेको र सबै स्थानिय तहमा सेवाकेन्द्र लैजाने योजना रहेको उनले जानकारी दिए । संस्थामा २५ प्रतिशत भन्दा माथि तरलता रहेको उनले बताए । ससानो ऋण लगानी गरिरहेको भए पनि व्यवसायिक ऋण भने परियोजना हेरेर मात्रै गर्ने गरेको उनको भनाई छ । संस्थाको बचत संकलनमा कुनै घटबढ नभएको र प्रत्येक सदस्यले मासिक बचत गर्ने गरेको उनले बताए । सदस्यले न्युनतम २ सय अनिवार्य रुपमा बचत गर्नुपर्छ भने त्यस भन्दा माथि पनि बचत गर्न सकिने उनको भनाई छ । अर्थतन्त्रमा आएको मन्दीका कारण व्यापार व्यवसायमा कमी आउँदा ऋण असुलीमा भने केही समस्या रहेको उनले जानकारी दिए । जिल्लामा सञ्चालित सहकारीमा अहिलेसम्म बचत फिर्तामा कुनै समस्या नरहेको उनले बताए ।
नेपालपत्र संवाददाता