काठमाडौं । बिश्वका बिभिनन्न १०० देशका शहरमध्ये काठमाडौं वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ । गएकाे शनिबारदेखियता विश्वका प्रमुख १०० शहरमध्ये काठमाडौंको वायु बिश्व सबैभन्दा बढी प्रदूषित अवस्थामा पुगेको बताइएकाे छ ।
स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरका अनुसार बिहीबारदेखि नै काठमाडौंको वायु अस्वस्थकर तहमा पुगेको छ ।
बिहीबार १७४ एक्यूआई रहेको काठमाडौंको वायु प्रदूषणको अवस्थामा अहिले १९४ एक्यूआईमा पुगेको छ । आईक्यूएअरका अनुसार अहिले भक्तपुर क्षेत्रमा बढी वायुप्रदूषण छ । वातावरणविद् भुषण तुलाधर वायुप्रदूषणको सबैभन्दा ठूलो असर फोक्सोमा पर्ने गरेको बताउँछन् । उनी वायु प्रदूषणले मानिसको शरीरमा आक्रमण नगर्ने कुनै अंग नै नरहेको जनाउँछन् ।

बिज्ञहरूका अनुसार याे बायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को मापदण्डमा जाँचिन्छ । पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ । अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च रहेकाे छ ।
उनीहरूका अनुसार बाहिर हावाबाट आएको वायु श्वासनली र नलिकाबाट आउने अक्सिजन रगतसम्म पुग्ने गर्छ र रगतमा रहेको बिकारको पदार्थ कार्बन डाइअक्साइडलाई नलिकाबाट फोक्सोको श्वासनलीबाट बाहिर फाल्ने क्रम रक्तसञ्चार प्रणालीमा चलिरहन्छ । पीएम २.५ ग्यासेस पार्टिकलहरू स्वास्थ्यका लागि खराब खालका हुन्छन् । ती ग्यासहरू श्वासनली हुँदै भित्र छिर्छन् । ती हानिकारक पदार्थहरू विभिन्न अंग हुँदै रगतसम्म पुग्छन् र रगतका भित्ताहरूलाई कडा बनाइदिन्छन् । जसले रक्तचाप बढाउँछ ।
यसरी रक्तचाप बढेपछि सामान्य अवस्थामा भन्दा प्रदूषणयुक्त ठाउँमा बसेको मान्छेमा हृदयघात र स्ट्रोकको सम्भावना १० गुणासम्म बढेर जान्छ । यसरी वायु प्रदूषणले नै स्ट्रोक र हृदयघातको समेत प्रचूर सम्भावना बढाइदिने गम्भीर खतरा रहन्छ ।
यतिबेला नेपालकाे वातवरण विभागले वायु प्रदूषणको नकारात्मक असरबाट जोगिन सार्वजनिक अपील नै गरेको छ ।
नेपालपत्र संवाददाता