राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के।बी। उप्रेतीले कुनै पनि सरकारले सहकारीलाई सहयोग नगरेको बताएका छन् । पाँचतारा साकोसले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सदस्य स्वयंले नै सहकारीलाई बचाउनुपर्नेमा जोड दिए ।
‘सहकारीलाई हामी आफैंले नै जोगाउने हो,’ उनले भने, ‘एमाले, काँग्रेस, माओवादी कसैले जोगाउनेवाला छैनन् ।’ सरकारले सहकारीलाई पैसा नदिएपनि फरक नपर्ने तर ऐनमा भएका प्रवर्धनात्मक व्यवस्था कार्यान्वयनमा ल्याउन र सकारात्मक सन्देश दिन उनले आग्रह गरे ।
अहिले धेरै संस्थालाइ तरलता व्यवस्थापनमा समस्या परेको उप्रेतीले बताए । देशको कारणले मात्र नभइ विश्वमा आएको आर्थिक मन्दीका कारण अर्थतन्त्रमा सुस्तता आउँदा त्यसको प्रभाव सहकारी क्षेत्रमा समेत परेको उनले जनाए ।
‘यो राष्ट्रिय समस्या हो’, उनले भने, ‘सहकारीले बचत फिर्ता गर्न सकेनन् र ठगी गरे भन्नु गलत हो । अहिले सबै मिलेर सहकारी बचाउनेतर्फ लागौं । अर्थतन्त्रमा सुधार आएपछि सहकारीले बचत फिर्ता गर्छन् ।’
‘संस्थाहरूले बढीमा २० प्रतिशत तरलता राखेका हुन्छन्। त्यसभन्दा बढी बचत फिर्ता लिन आएपछि कहाँबाट ल्याएर दिने ?’ उनले प्रश्न गरे, ‘बजारमा सुस्ती आउँदा व्यापार व्यवसाय चल्न सकेका छैनन् , जसले गर्दा संस्थाको ऋण लगानीको साँवाँव्याज उठाउन मुश्किल परेको छ । ’
सहकारीको समस्या समाधानमा सरोकारवाला सबैपक्ष एकिकृत भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नेपालपत्र संवाददाता