आइतबार, आश्विन १८ गते २०८३

पाँच तारा साकोसको १५औं वार्षिकोत्सव, अभियन्ता भन्छन्ः सिंहदरबारमा बस्नेले सहकारी चिनेनन्


चैत्र ३०, २०७९ बिहीबार
पाँच तारा साकोसको १५औं वार्षिकोत्सव, अभियन्ता भन्छन्ः सिंहदरबारमा बस्नेले सहकारी चिनेनन्

 

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सवमा बोल्ने अधिकांश वक्ताहरुले सिंहदरबारले सहकारीलाई नचिनेको गुनासो गरेका छन् । सहकारीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा उल्लेख्य योगदान पु¥याएको भएपनि सिंहदरबारमा बस्नेहरुले सहकारीको योगदानलाई मुल्यांकन गर्न नसकेको सहकारी अभियन्ताले जनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले राजनीतिज्ञहरुलाई सहकारीका बारेमा ‘एजुकेट’ गर्न आवश्यक रहेको औंल्याए । राजनीतिज्ञहरुमा सहकारी भनेको बचतऋण कारोबारी मात्र भन्ने बुझाई रहेको भन्दै उनले बचतऋण सहकारीको एउटा पाटोमात्र रहेको बताए । नेताहरुले सहकारीमार्फत् समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेपनि उनीहरुलाई सहकारीको चूरो कुरो नै थाहा नभएको जनाए । सहकारीमा विकृति छिरेको स्वीकार्दै उनले भने, ‘सहकारीको मुल्य, मान्यता र सिद्धान्तमा बस्नेहरुमा त्यस्तो समस्या छैन, तर सहकारीको ब्यानर बोकेर ठगी गर्नेहरुलाई हामीले नै लखेट्नुपर्छ, नत्र दोष हामीलाई नै लाग्छ ।’

त्यसैगरी सहकारी अभियन्ता घनश्याम खतिवडाले सिंहदरबार सहकारीप्रति रुखो भएको आरोप लगाए । सिंहदरबारमा बसेकाहरुलाई चुनौति दिँदै उनले भने ‘एक पटक समुदायमा आधारित सहकारीले गरेको कामका बारेमा पढ्नुस्, बुझ्नुस् र सहकारीमैत्री ऐननियम बनाउनुस् ।’

आफु संसदमा हुँदा सहकारी क्षेत्रको हकहितका लागि आवाज उठाएको र करको दर वृद्धिको विषयमा समेत सदनमा कडा प्रतिवाद गरेको उनले उल्लेख गरे । सहकारी ऐनलाई अविलम्ब संशोधन गरेर सहकारीमैत्री बनाउन उनले सुझाए । ‘सिंहदरबारले त सहकारीमैत्री ऐन बनाउन सकिरहेको छैन,’ उनले भने ‘संघीयतापछि सहकारी ७६१ तहमा बाँडिएको छ, स्थानीय तहले कस्तो ऐन बनाउलान्?’

सहकारीमा विकृति मात्र नभएको र समुदायको लागि समेत राम्रो काम गरेका संस्था थुप्रै भएको भन्दै उनले सहरमा रहेर पनि पाँचतारा सुशासन र व्यवस्थापकीय हिसाबले उत्कृष्ट रहेको जनाउँदै सबैलाई अध्ययन अवलोकन गर्न सुझाए ।

कार्यक्रममा पूर्व सम्मानित व्यक्तित्व सरोजकुमार शर्माले अहिले सहकारीमा संकट देखिएको भन्दै अभियन्ताहरु सहकारीको साख जोगाउन लाग्नुपर्ने बताए । सहकारीले सदस्यको आर्थिक समृद्धिका लागि काम गर्न सके सहकारीमा लागेको बादल चाँडै हट्ने उनले उल्लेख गरे ।

सिंहदरबारमा बस्नेहरुलाई सहकारीको महत्व बुझाउन नसक्दा समस्या आएको उनको भनाई छ । सहकारीलाई कृषि मन्त्रालयसँग जोड्नुपर्नेमा भूमि व्यवस्थासँग जोड्दा समस्या आएको भन्दै उनले थपे, ‘कृषि र सहकारीको सम्बन्ध अन्योन्याश्रित छ, भूमिबाट सहकारीलाई कृषिमा ल्याउन सके राम्रो हुन्छ । सहकारीमार्फत कृषि उत्पादन समेत बढाउन सकिन्छ ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा परेकाले बैंकवित्त र सहकारी संस्थाहरु समस्यामा परेको बताए । ‘हरेक वस्तुको भाउ आकाशिएको छ । अर्थतन्त्र शिथिल छ । व्यापार व्यवसाय ठप्प भएको छ । यसले गर्दा कतिपय संस्थाहरुलाई तरलता व्यवस्थापनमा समस्या परेको हो,’ उनले भने, ‘सदस्यको विश्वास जितेका संस्थामा जस्तोसुकै परिस्थितिमा पनि समस्या आउँदैन ।’

five star 4.jpg

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले कुनै पनि सरकारले सहकारीलाई सहयोग नगरेको भन्दै सदस्य स्वयंले नै सहकारीलाई बचाउनुपर्नेमा जोड दिए । ‘सहकारीलाई हामीले नै जोगाउने हो,’ उनले भने, ‘एमाले, काँग्रेस, माओवादी कसैले जोगाउनेवाला छैनन् ।’ सरकारले सहकारीलाई पैसा नदिएपनि फरक नपर्ने तर ऐनमा भएका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयनमा ल्याउन र सकारात्मक सन्देश दिन उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघ, काठमाण्डौका सचिव बालकुमार बास्तोलाले पाँच तारा साकोस निर्वाचन क्षेत्र नं. २ कै नमूना साकोस भएको भन्दै उनले सामाजिक क्रियाकलापमा पनि संस्थाले उल्लेख्य योगदान पु¥याउनु सकारात्मक भएको जनाए । यस्ता विभिन्न कार्यक्रम गरी संस्थाले समुदायमा सहकारीका बारेमा जागरण ल्याएको भन्दै उनले ऐन अनुसार मिल्ने भए आफु पनि पाँच ताराको सदस्य बन्ने बताए ।

संस्था अध्यक्ष एवं कार्यक्रममा सभापति भोला नाथ पाठकले संस्थाले विगत १५ वर्षदेखि सहकारीको सिद्धान्त र मुल्यमान्यतामा रहेर सदस्यको विश्वास जित्दै अगाडि बढेको उल्लेख गरे । संस्थाले बचतऋणको मात्र कारोबार नगरी समुदाय र सदस्यका हरेक आवश्यकतामा योगदान पु¥याउँदै आएको उनले बताए । संस्थाले पहिलो वर्ष बाट नै सहकारी अभियन्ताहरुलाई सम्मान गर्न थालेको बताउँदै १५ वर्षसम्म निरन्तर सहकारी व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु गर्वको विषय बनेको जनाए ।

यस वर्ष संस्थाले मकवानपुरको जनचेतना साकोसकी निवर्तमान अध्यक्ष मञ्जुकुमारी थिङलाई पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित गरेको छ ।

त्यसैगरी कार्यक्रममा ज्येष्ठ सदस्य र पाँचपटक भन्दा बढि रक्तदान गर्ने रक्तदातालाई सम्मान तथा चाँदीको सिक्का प्रदान गरिएको थियो ।

संस्थाले प्रकाशन गरेको वार्षिक स्मारिक तथा नयाँ वर्ष २०८० को क्यालेण्डर समेत त्यस अवसरमा विमोचन गरिएको थियो ।

five star 2.jpg

five star.jpg