शनिबार, आश्विन १७ गते २०८३

थिङलाई यस वर्षकाे ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’ सम्मान


चैत्र ३०, २०७९ बिहीबार
थिङलाई यस वर्षकाे ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’ सम्मान

 

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सहकारीकर्मी मञ्जु कुमारी थिङलाई सम्मानित गरेको छ । संस्थाले आज आयोजना गरेको १५औं वार्षिकोत्सवको अवसरमा थिङलाई ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०७९’ बाट सम्मानित गरिएको हो । ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै संस्थाले सहकारी क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई विगत १५ वर्षदेखि सम्मान प्रदान गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रसाद बाँस्कोटाले थिङलाई दोसल्ला, नगद रु. ११,१५१ तथा प्रमाणपत्र प्रदान गरे ।

२०१५ साल माघ १० गते मकवानपुरमा जन्मिएकी थिङले औपचारिक शिक्षा लिने मौका पाइनन् । पारिवारिक अवस्था कमजोर र सानै उमेरमा उनका बुबाको मृत्यु भएका कारण उनले विद्यालय जान पाइनन् । जनचेतना बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष हुँदै १६ वर्ष सोही संस्थाको अध्यक्ष भएर उनले कार्य गरेकी छिन् । जिल्ला सहकारी संघ मकवानपुरकी सञ्चालक समेत रहेकी थिङ यस अघि पनि नेफ्स्कुन संस्थापक पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । 

सहकारीमार्फत् महिला सशक्तिकरणमा उनले उल्लेख्य योगदान पुर्‍याएकी छिन् । संस्थामा हाल ४६०० सदस्य आवद्ध रहेका छन् भने संस्थाको आफ्नै भवन रहेको छ । वित्तीय संकटको बेलामा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसकेको अवस्थामा पनि संस्थाले प्रतिसदस्य २ लाख रुपैयासम्म ऋण लगानी गर्दै आएको छ । सहकारीसँगसँगै सामाजिक क्रियाकलपमा पनि थिङ सहभागि हुँदै आएकी छिन् । 

सो अवसरमा बोल्दै प्रमुख अतिथि बाँस्कोटाले सहकारी अभियानमा योगदान पु¥याउनेमध्येकी एक थिङलाई छनौट गरी सम्मान गरेकोमा पाँच तारालाई धन्यवाद दिए । ‘जसले जहाँ बसेर राम्रो काम गरेपनि त्यसको खोजी हुँदोरहेछ ।’ उनले भने, ‘मकवानपुरको विकट भेगमा जन्मिएकी र त्यसैलाई आफ्नो कार्यक्षेत्र बनाएकी थिङलाई सम्मानित गर्नु असल काम हो । राम्रो काम गर्नेको एकदिन उचित मुल्यांकन  र सम्मान हुँदोरहेछ ।’

कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व थिङले चुरेको बगरमा गिट्टी कुटेर जीविकोपार्जन गरेको र गिट्टी विक्री नहुँदा हेटौंडामा दाउरा बेचेर गुजारा चलाएको बताइन् । सहकारी नै आफ्नो लागि विश्वविद्यालय भएको भन्दै उनले त्यहीँबाट ज्ञान, सीप र नेतृत्व विकास गर्न सकेकोमा खुशी व्यक्त गरिन् । सहकारीमा आवद्ध सदस्यहरुको सीमित श्रोतसाधन हुने भएकाले खर्च कटाएर बचत गर्नुपर्नेमा उनले जोड दिइन् । सहकारीले लिंग, धर्म, जात, धनीगरिबको आधारमा विभेद नगरी सबैलाई समान व्यवहार गर्ने हुँदा सहकारी नै समाजका लागि उपयुक्त माध्यम भएको जनाइन् ।

पछिल्लो समय सहकारी भागेको र बचत फिर्ता नदिएको गुनासो बढिरहेको उनले बताइन् । ‘यसले सहकारीमा बचत गर्नु हुँदैन भन्ने आवाज उठेको छ,’ उनले भनिन् ‘सहकारीका सञ्चालक, संस्थाको समग्र वित्तीय अवस्था र संस्थाले दिने सेवाका बारेमा बुझेरमात्र सदस्य बन्नुपर्छ । सबै सहकारी खराब छैनन् ।’

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष भोला नाथ पाठकले अग्रज व्यक्तित्वलाई सम्मान गर्ने र सदस्य तथा अभियन्तासँग साक्षात्कार गर्ने उद्देश्यले संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा कार्यक्रम गर्दै आएको बताए । १५ वर्षसम्म आइपुग्दा धेरै सहकारी अभियन्तासँग आफुहरु नजिक हुन पाएको भन्दै उनले संस्थाले सम्मानलाई निरन्तरता दिने बताए । पाँच तारा साकोसले सम्मान गरेका व्यक्तित्वहरुले मुलुकको सहकारी अभियानमा पु¥याएको योगदान अनुकरणीय रहेको पाठकले जनाए ।