शनिबार, आश्विन १७ गते २०८३

सन् २०२१ मा दोहोरो अंकको वृद्धि हासिल गर्दै भारत, विश्व अर्थतन्त्रमा पनि व्यापक सुधार हुने 

चैत्र २६, २०७७ बिहीबार
सन् २०२१ मा दोहोरो अंकको वृद्धि हासिल गर्दै भारत, विश्व अर्थतन्त्रमा पनि व्यापक सुधार हुने 

काठमाडौं । सन् २०२१ मा विश्वको अर्थतन्त्रमा व्यापक सुधार आउने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले गरेको पूर्वानुमानमा यस्तो अवस्था देखिएको हो । सन् २०२० मा कोरोनाको कारणले थला परेका मुलुकहरुले यो वर्ष राम्रो आर्थिक वृद्धि हासिल गर्ने आईएमएफको अनुमान छ ।  बेलायत, अमेरिका र अन्य पश्चिमा मुलुकको अर्थतन्त्र आकलन गरिएभन्दा राम्रो हुने आईएमफले जनाएको छ । 

आईएमफको अर्धवार्षिक वर्ल्ड इकोनोमिक आउटलुक (डब्लूईओ) मा कोरोना भाइरसविरुद्धको खोप अभियान, चुनौतीका बीच व्यवसायको निरन्तरता र अमेरिकामा कोरोनाको प्रभावबाट माथि उठ्न जो बाइडेनले छुट्याएको प्याकेजका कारणले विश्व अर्थतन्त्रममा व्यापक सुधार हुने बताइएको छ ।


२०२१ मा विश्व अर्थतन्त्र ६ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।कोरोना भाइरसका कारण सन् २०२० मा सबैभन्दा बढी प्रभावित भएको बेलायती अर्थतन्त्र सन् २०२१ र २२ मा भने माथि उठ्ने आईएमएफको अनुमान छ । यो वर्ष बेलायतको आर्थिक वृद्धि ५.३ प्रतिशत र सन् २०२२ मा ५.१ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ ।


त्यस्तै अमेरिकाको अर्थतन्त्र सन् २०२१ मा ६.४ र सन् २०२२ मा ३.५ प्रतिशतले वृद्धि हुने आईएमफको अनुमान छ ।

चीनको अर्थतन्त्र सन् २०२१ र २२ मा क्रमश ८.४ प्रतिशत र ५.६ प्रतिशतले वृद्धि हुने अनुमान छ । त्यस्तै, भारतको आर्थिक वृद्धिदर १२.५ प्रतिशत पुग्ने अनुमान आईएमएफले गरेको छ । यसअघि आईएमएफले भारतको अर्थव्यवस्थामा यो वर्ष ७.५ प्रतिशतको वृद्धि हुने अनुमान गरेको थियो । त्यस्तै सन् २०२२ मा भारतको अर्थतन्त्र ६.९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

न्यून आय र विकाशशील मुलुकको अर्थतन्त्र सन् २०२१ मा ४.३ प्रतिशत र सन् २०२२ मा ५.२ प्रतिशतले वृद्धि हुने अनुमान छ । आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपिनाथले सन् २०२१ मा विश्वका अधिकांश मुलुकको अर्थतन्त्रमा सुधार आउने देखिनुको मुख्य कारण कोरोना भाइरसविरुद्धको खोप अभियान भएको बताइन् ।