
-गणेश घिमिरे 'मार्मिक'
(कमरेड पुष्पलालको ४३औं स्मृति दिवसको सन्दर्भमा श्रावण १५ गते स्वयं कबिद्वारा बाचन गरिएको यो कबिता)
(छन्द:भुजंगप्रयात्)
तँ क्षेत्री तँ बाहुन् तँ लिम्बू तँ राई
तँ कामी-दमै होस् तँ पोडे-कसाई
तँ नेवार, सार्की तँ धोवी, कुसुण्डा
म ठूलो तँभन्दा, तँ सानो मभन्दा
यसै रोगले बन्न थाले बिरामी
यही भावले उठ्न सकिन्न हामी
ननाचौँ कसैको इशारा कुरेर
नबाँचौँ सधैँ देश आफ्नै भुलेर
न तेरो र मेरो यहाँ भेदभाव
हिमाली पहाडी मधेसी विभेद
छ कर्तव्य हामी सबैको समान
छ साझा सबैको नयाँ संविधान
नखोजुन् यहाँ झूठको गर्न खेति
नछेकुन् यहाँ ज्ञानको दिव्य ज्योति
नहाँसुन् यहाँ दुष्ट पापिष्ट कोही
नबाँचुन् इमानीहरू आज रोई
म नेपाल सिंगो सबै जात मै हूँ
र सन्तान यौटा म नेपालकै हूँ
सबै जात यौटै छ यो थात यौटै
बनी स्वाभिमानी गरौँ आँत यौटै