लघुकथा

राजेश बान्तबा
घमण्डले मानिसलाई भड्खालोमा झ्याम्म जाकिदिदो रहेछ।बाघदेखि मुसासम्म बनाइ छाड्दो रहेछ । एक पटक बाघ बनेपछि सधै भैरहन्छु भन्ने पनि भ्रम मात्र रहेछ । त्यसैले दम्भ मानिसको एक नम्बरको शत्रु रहेछ ।
यस्तै सुवर्ण अवसरको सन्दर्भ हो । संघर्षको युगौं आँधि हुरी पश्चात रङ्गीन विहानी उदायो । त्यो सुनौलो विहानी सङ्गै लेकाली पाखाहरुमा चाप र गुरास सङ्ग अन्य फूलहरु फुलेर सप्त रङ्गी देखिन्थ्यो। मधेश तिर पनि सिमल र सिरीष फुलेर मनमोहक लाग्दथ्याे। त्यस सालको बसन्तले उच्छवास नै ल्याइदिएको थियो । यद्यपि त्यो सुनौलो अवसर आउन धेरै रगत पसिना र आशु बगाउनु परेको थियो । यसले आंशिक भएपनि मुक्त जीवनको आयम थपेको थियो। जाे विद्यमान अवस्थामा जन जीवनको मुक्तिको एउटा आधार स्तम्भ भएर उभिएको छ।
त्यस सिन्दुरे विहानीको झुल्के घाममा नुहाउने पात्रहरु मध्येका कटकप्रसाद पनि एक हुन्।विगत अभियानमा चाँहि बसन्त र फूलमान अग्रपङ्तिमा थिए। यिनीहरु त्यसताकासम्म अगाडि कै लहरमा थिए। तर संगोलको शक्तिलाइ निजी शक्तिमा भजाउदा बसन्त र फूलमान भन्दा कटक प्रकारान्तरले अगाडि भयो। शक्ति पृथकीकरणलाइ निजीकरण गर्न यी तिनै पक्ष आन्तरिक सहमतिमा आए। शक्तिलाई आफुमा केन्द्रित गर्न शक्तिको श्रोत जनार्दन कहा जानु पर्ने हुन्थ्यो। त्यसै अनुसार उनीहरुले जनार्दनको आगनमा झोली फैलाए। जनार्दनले लोकको हित होला कि भनेर मुसादेखि बिरालोहुदै बाघसम्म बनाइदियो।
बाघ भएपछि त दम्भले फुलेर जनार्दन तिर फर्केर ङ्यार....ङ्यार गर्दै डुक्रिन थाल्याे। जनार्दनले धैर्यता राखेर सम्झाउदा बुझाउदा पनि केहि लागेन। कटक अन्ततः पुनरूत्थानकाे पथ पो समाउन थालेको रहेछ। निनानसेकमा कटकले बिथोल्ने रहेछ भनेर बुझिसके पछि जनार्दनले उसलाई पुनः मुसा बनाइदियो।