शनिबार, आश्विन १७ गते २०८३

मेगा बैंकले माछापालक कृषकलाई सहुलियत कर्जा दिने

श्रावण २२, २०७८ शुक्रबार
मेगा बैंकले माछापालक कृषकलाई सहुलियत कर्जा दिने

 

मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । 

मेगा बैंक नेपाल लिमिटेड, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो । यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले हस्ताक्षर गरेका हुन् । 

यो सम्झौतापछि बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडले माछापालक कृषकहरुलाई प्राविधिक सहयोग र अन्य सामाग्रीहरु आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरु सहज रुपमा उपलब्ध गराउनेछ । 

हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक कृषकहरुलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए । मेगा बैंकले आगामी ५ बर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । 

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपालीहरु सदैव मेगा बैंकको प्राथमिकतामा रहेको जनाए । बैंकले आम नागरिकहरुलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै सिइओ खुञ्जेलीले माछापालक किसानहरुलाई वित्तीय सहायता गर्न पाउँदा अत्यन्तै खुसी लागेको जनाइन् ।