‘भदौमा महाधिवेशन हुने सम्भावना छैन्, के गर्ने छलफल गर्दैछौं’– महत
नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपाली काँग्रेसको आसन्न महाधिवेशन भदौ महिनामा हुने सम्भावना लगभग समाप्त भएको पनि टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा बोल्दै अहिलेसम्म क्रियाशिल सदस्यताको विवाद टुँगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाई छ । उनले भने,‘साउन १२ गते वडा तहको अधिवेशन गर्नुपर्ने भनिएको थियो, त्यो पनि सकिएन । मुख्य कुरा क्रियाशिल सदस्यता फाईनल हुनुपर्यो नि, अहिलेसम्म भएको छैन् ।’
तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको महतको भनाई छ । उने भने,‘एउटा विचार के आएको छ भने अब भदौ १९ को समयमा महाधिवेशन गर्न नसकिने भएपछि त्यसपछि वर्तमान कार्यसमितिलाई नै अन्तरिम कार्यसमिति बनाएर जाने कुरा पनि छ, अर्को विचार सहमतिको आधारमा नयाँ समिति बनाउने कुरा पनि छ । अर्को कुरा असोज÷कार्तिकसम्म महाधिवेशन गरौं भन्नेपनि छ । अर्को अहिलेकै मितिमा पनि महाधिवेशन गर्न सकिन्छ भन्ने कुरा आएको छ ।’
उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले आन्तरिक जीवन सधैं सुदृढ गर्नुपर्ने बताए । उनले भने,‘यो एउटा ऐतिहासिक पार्टी हो, हाम्रो आईडियोलोजी ठिक छ । हामी बीचमा एकता हुनुपर्छ । पार्टीभित्र संघर्ष गर्नु उचित होईन् । एकता कायम गरेर नै अघि बढ्नुपर्छ ।’
सरकारलाई पूर्णता दिन ढिलाई भएको भन्दै सरकारले यथाशक्य चाँडो क्याबिनेटई पूर्णता दिनुपर्ने उल्लेख गरे । उनले भने,‘सरकारलाई पूर्णता दिनको लागि ढिलाई भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाई गर्नुहुँदैन् ।’
उनले वर्तमान सरकारले यस अघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्ने धारणा राखेका हुन् । उनले सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि बताए । यसअघि अध्यादेशबाट ल्याईएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याईनुपर्ने महतको भनाई छ । उनले अब ल्याउने बजेट कृत्रिम रुपमा आकारमात्रै बढाउन नहुने सुझाव दिए । यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाहृय दुवै ऋण बढाएको उनको गुनासो छ । उनले भने,‘अहिले एक जनाको भागमा ५२÷५३ हजार ऋण पुगेको छ ।’ अब बजेट ल्याईँदा प्रशासकीय खर्चपनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो ।
वर्तमान सरकारले पूर्ण बजेट ल्याउनको लागि तयारी गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले भूमि आयोग विघटन गरेकोमा खुशी व्यक्त गरे । र, सरकारको यो कदमलाई सकारात्मक रुपमा लिनुपर्ने पनि उनको भनाई छ ।
उनले भने, ‘भूमिहिनहरुलाई भूमि दिने कुरामा सरकारले उचित र वैज्ञानिक ढंगले काम गर्छ । तर, यसअघि आयोग बनाएर कार्यकर्ताको भर्ती केन्द्र बनाईएको थियो । यसलाई विघटन गर्नु उचित हो ।’ उनले अब सरकारले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने कुरामा जोड दिनुपर्ने पनि सुझाव दिए । त्यस्तै, उनले मुलुकको सुशासन कायम गर्ने कुरामा पनि सरकारले आवश्यक ध्यान दिने विश्वास दिलाए ।