ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबीको रेखा मुनि रहेका जनतालाई निशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छिन् ।
बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरु सँगको छलफलमा मन्त्री भुसालले आफुले गरिबीको रेखा मुनि रहेका जनतालाई निःशुल्क विद्युत उपभोग गर्न दिने गरी आफुले तयारी अगाडि बढाएको बताइन् ।
उक्त कार्यक्रम अघि बढे ७६ लाख ३६ हजार जनताले निशुल्क बिद्युतको लाभ लिन सक्ने जनाएकि हुन् छिन्। हाल कुल जनसंख्याको २५.१ प्रतिशत जनता गरिबीको रेखामूनि रहेका छन्।
विद्युतको घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफुले तयारी गरिरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभुत जनता, उनीहरुलाई कही राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेको छु मैले ।’
ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भुमिमा सिँचाई पु¥याउनको निम्ति पनि आफु क्रियाशिल रहने र सिँचाईको निशुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने बताइन् ।
सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उनले उल्लेख गरिन् । सातै प्रदेशका नदीबाट विद्युत उत्पादनको सम्भाव्यता के कति रहेको छ अध्ययन गरिरहेको पनि मन्त्री भुषालले जानकारी दिइन् ।