
इन्द्रनारायण सुबेदी
(कमरेड पुष्पलमलबमे ४३औं स्मृति दिवसको उपलक्षमा आयोजित कबिता बाचन कार्यक्रमा साउन १५ गते बाचन गरिएको)
(भुजङ्गप्रयात)
===================
म मन्त्री भएको भए देश धुन्थेँ
समस्या बडो ध्यान लाएर सुन्थेँ
यहाँ चाहिने जे छ त्यो मात्र चुन्थेँ
नयाँ योजना राष्ट्रका निम्ति बुन्थेँ।१।
उखेलेर फ्याँक्थेँ सबै भ्रष्टलाई
जरैबाट तानेर डाँडो कटाई
युवा वृद्ध माता पिता दाजुभाइ
लिई साथ सम्झेर यो देशलाई।२।
यिनै देशवासी यिनै मूल खम्बा
म साथी बनाएर पारेर जम्मा
सँगै हिँड्दथेँ दूर गन्तव्य टाढा
लिई स्वच्छ सद्भाव सम्बन्ध गाढा।३।
घडेरी कतै जोड्नु पर्दैन मैले
नियाँ व्यर्थमा तोड्नु पर्दैन मैले
म नेतृत्वको निम्ति पाएर साथ
रमाएर बाँच्ने थिएँ जन्मजात।४।
हटाएर सङ्कष्ट बढ्थेँ अगाडि
लिई ओहदा धर्म छाड्दै नछाडी
बनी स्वच्छ निष्पक्ष विश्वास पात्र
म लेख्थेँ सबैभित्र नेपाल मात्र।५।
बुझी देशको मर्म भाषा र बोली
मिलाए त्यही बन्छ आवाज गोली
सिमाना सुरक्षार्थ आफैँ म हुन्थेँ
सिपाही बनी चोरगौँडा म थुन्थेँ।६।
कसैको बनी दास भै लम्पसार
म बेचिन्नथेँ स्वार्थमा बारबार
म हेरेर आफ्नै धराको मुहार
बदल्थेँ सजाएर मोती जुहार।७।
युवा देशका देशमै बिक्नुपर्छ
हजारौँ नयाँ योजना झिक्नुपर्छ
नयाँ सीप शैलीहरू सिक्नुपर्छ
म मन्त्री सवैको बनी टिक्नुपर्छ।८।
गरी नित्य सत्कर्म आकाश छुन्थेँ
म नेपालको स्वच्छ सङ्गीत सुन्थेँ
सबैको पियारो सबै साथ हुन्थेँ
म यो देशमा माथ राखी नुहुन्थेँ।९।
ससाना कुरामा पसी भित्र भित्र
यहाँ खेल्दछन् राष्ट्रघाती चरित्र
निसाना तिनैमाथि लाएर मेरो
उखेल्ने छ इच्छा बनाएर घेरो।१०।
चुरेघाँटी, इलाम