शनिबार, आश्विन १७ गते २०८३

सर्वोच्चको स्टे अर्डर पछि बैंकिङ क्षेत्रका कर्मचारीलाई राहत

श्रावण २०, २०७८ बुधबार
सर्वोच्चको स्टे अर्डर पछि बैंकिङ क्षेत्रका कर्मचारीलाई राहत

 

सामाजिक सुरक्षा कोषमा जानका लागि बाध्य नबनाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेसँगै बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले रात महशुस गरेका छन् । सो आदेशसँगै हाललाई कोषमा आवद्ध नहुँदा पनि उनीहरुलाई फरक नपर्ने भएको हो ।

ओली सरकारको पालामा सामाजिक सुरक्षा कोषमा बैंक वित्तीय संस्थाका कर्मचारीहरु अनिवार्यरुपमा सहभागी हुनै पर्ने गरी बैङ्क तथा वित्तीय क्षेत्रलाई निर्देशन दिए पछि कर्मचारीहरु लामो समयदेखि चरणबद्ध आन्दोलनमा थिए ।

बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले आफूहरुले पहिला खाइपाइ आएको सुविधा घट्ने भन्दै दवावकासाथ सामाजिक सुरक्षा कोषमा नजाने अडानका साथ आन्दोलनरत थिए ।

यसै क्रममा सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सो रिटमाथि न्यायाधीशत्रय अनिलकुमार सिन्हा, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलासले यो विषयमा सुनवाई गरेको थियो ।

सरकारको निर्णय रोक्न अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेमा न्ययाधीशहरुको राय बाझिएपछि बहुमतका आधारमा कर्मचारीहरुको पक्षमा यस्तो निर्णय गरिदिएको हो । तर यो मुद्दालाई अबको ४५ दिनमा पुनः इजलासमा पेस हुने भएको छ । तर अदालतको आदेशसँगै तत्कालका लागि भने बैङ्क तथा वित्तीय क्षेत्रका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा नजाँदा पनि हुने भएको ।