नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त संस्थाहरुको नाफा अस्वभाविक रुपमा बढेको बताएका छन्। संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले लघुवित्त संस्थाहरुलाई ब्याजदरमा १५ प्रतिशतको थ्रेस होल्ड तोक्दा पनि नाफा अधिक देखिएको उनले जनाएका हुन् ।
वाणिज्य बैंकहरुको नाफा भने सन्तोषजनक रहेको उनको भनाई थियो । सांसदहरुले ऋणको हिस्सा बढ्दै जाने र आर्थिक वृद्धिदर संकुचन हुनु प्राकृतिक नभएको भन्ने प्रश्नमा गभर्नर अधिकारीले ऋणको ठूलो अंश सेयर बजारमा नगएको जवाफ दिएका हुन् ।
गभर्नर अधिकारीले भने ‘ऋणको २० प्रतिशत व्यापार क्षेत्रमा गएको छ, राष्ट्र बैंकको अध्ययनमा ठूलो मात्रामा ऋण सेयर बजारमा गएको देखिएको छैन।’ सहुलियत कर्जामा सरकारको सहयोग भएपनि बैंकले जोखिम लिन नचाहेकोले कर्जा बजारमा जान नसकेको उनले उल्लेख गरे।