
ई. सन्तोष कुमार पोखरेल
पात हाँगा हाँगा पात जताबाट आएपनि आउने भनेको कि उही पात कि उही हाँगा कि उही हाँगा कि उही पात । मूल जरो दरो हुन नसकेको कुरो जगजाहेर हो । यसमा कुनै बहस गर्नै परेन अनि बाँकी रह्यो यसका स्तम्भ र बोक्राको – हो ! कुरोको चूरो चैं बरु यो होला।
जरामा तिन्ताक नेपालीहरुले आफ्नै प्रांगारिक मल जल गरेर हुर्काएका बोटहरू ऐले झंखाड़ बुढा भएका छन् । स्वस्थ बोटहरू पनि कालान्तरमा बुढा हुनु स्वाभाविक हो तर बेला त अझ यी बोटहरूका धेरै बांकी नैं थिए । उमेर नपुग्दै रोगी भए अनि रोग नैं लागिसकेपछि बुढो छिट्टै हुनु पनि स्वाभाविक नैं हो, यसमा केही भन्नु परेन तर पनि रोग लाग्ने कारण चैं नज़र अन्दाज़ गर्नु भनेको आफ्नैं घर भात्किंदा समेत बेपरवाह हुनु हो । कि कसो? २०३५-३६ तिर पाकिस्तानी पूर्व प्रधानमंत्री भुट्टोलाई जिया सरकारले फाँसी लायो, तात्कालीन त्यस इस्लामी घोर ज्यादतीका विरूद्ध नेपालमा विद्द्यार्थी आन्दोलन भो । २०३७ मा आम निर्वाचन भो पञ्चायतले झीनो अन्तर ले निर्वाचन जित्यो तर प्रजातन्त्र हारेन उसबेला समेत।
ऐलेको लोकतन्त्र गणतन्त्र जे भने पनि मुलुकको अर्थ र सँस्कृति हारिरहेको छ दिनानुदिन । २०४६ पछि जोर पक्रेका मुलुकका इत्तर धर्म सँस्कृतिलाई पनि रजाईं गर्नबाट रोकिएको त थिएन तर २०६३ पछि ब्यूँतिएको प्रतिनिधि सभामा एउटी उखर्माउलीले सारीमाथि देखिने नाइटो तन्काई तन्काई बुरुक्क उफ्रेर कसैले नमागेको जातीय संघीयता र धर्मं निरपेक्षता घोषणा गरेको दृश्य र तेसको निर्मम प्रहार अझसम्म नेपालले भोग्दैछ।
बोट बुढो भयो । बरु यी पातहरू झर्नूं नि बेला बेला , यिनलई शरदले पनि छोएन, तेसैले बसन्त पनि आएन र ऐले पनि तिनै रोगी पात, तिनैं हाँगा, तिनैं खिइएका हाँगा अनि तिनैं पात ।
अगस्ट ३, २०२१ भक्तपुर नेपाल ।
सर्वाधिकार सुसुरक्षित © ® pokharel.santosh@gmail.com
(यो निबंध जत्ति पनि शेयर गर्न पाइन्छ ।)