शनिबार, आश्विन १७ गते २०८३

'सहकारीहरू कृषि उत्पादकत्व वृद्धि र गरिबी न्यूनिकरणमा लाग्नुस्' : रजिष्ट्रार शर्मा

श्रावण १९, २०७८ मंगलबार
'सहकारीहरू कृषि उत्पादकत्व वृद्धि र गरिबी न्यूनिकरणमा लाग्नुस्' : रजिष्ट्रार शर्मा


सहकारी विभागका रजिष्ट्रार लीलाप्रसाद शर्माले कृषि र उत्पादनलाई बढाउन सहकारीले लगानी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंकले स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको ‘सहकारीमा लघुवित्त’ सम्मेलनमा बोल्दै उनले कुनैबेला जिडिपीमा राम्रो योगदान पु¥याएको कृषिक्षेत्रको अंश अहिले घटेर चिन्ताजनक अवस्थामा आइपुगेकाले कृषि उत्पादन बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने जनाए । साना किसान र उत्पादनमुखी गतिविधिमा राज्य संयन्त्र, बैंकवित्त एवं सहकारीहरु लाग्नुपर्नेमा उनको जोड छ । उत्पादनमुखी क्रियाकलापमा ध्यान नदिएर बजारको मागलाई मात्र सम्बोधन गर्ने हो भने यसले सहकारीको आदर्शलाई न्याय पुग्न नसक्ने उनले औंल्याए ।

वर्तमान समयमा गरिबी न्यूनिकरण गर्नु राज्यका लागि चुनौतिको विषय भएकाले यसतर्फ सहकारीले पनि सघाउनुपर्ने रजिष्ट्रार शर्माको भनाई छ । सहकारी बैंकका सामु दुइवटा दायित्व रहेको भन्दै उनले भने ‘सहकारीको मुल्यमान्यता र सिद्धान्तलाई अंगीकार गर्नु र बैंकिङ प्रडक्टलाई पनि गुणस्तरीय रुपमा बैंकले अगाडि बढाउनु पर्छ । साथै बैंकले मुलुकको अर्थव्यवस्थामा योगदान, गरिबी निवारण र उत्पादन बढाउने काममा भूमिका खेल्नुपर्छ ।’

कोरोना संक्रमणका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थव्यवस्था अप्ठेरो अवस्थाबाट गुज्रिरहेपनि अहिलेसम्म मुलुकको अर्थतन्त्रका सूचक सन्तोषजनक अवस्थामा रहेकाले अब अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, रेमिट्यान्सलाई उत्पादनमा जोड्नु पर्ने एवं अनौपचारिक अर्थव्यवस्थालाई वाञ्छित दायराभित्र ल्याउनुपर्ने शर्माले औंल्याए ।