
–जीवनाथ अधिकारी
छन्द : पञ्चचामर
(कमरेड पुष्पलालको ४३औं स्मृति दिवसको सन्दर्भमा आयोजिक कबिता बाचन कार्यक्रममा साउन १५ गते बाचन गरिएको कबिता)
हिमाल हाँस्छ मुस्कँदै प्रभात गाउँछन् चरी
खुलेर स्वर्णको प्रभा रसाउँछन् सधैँभरि ।
नदी बहन्छ बाँसुरी सुसाउँदै पहाडमा
सुसेल्छ माधुरी कला सदैव नाच्छ चाडमा ।।१।।
म हेर्छु रङ्ग देशको अढङ्ग व्यङ्ग्यको घरी
लुटेर देश खान्छ जो लुछाचुँडी गरी गरी ।
सहन्नँ न्यायको गला दबाउने प्रयासको
म भाँचिदिन्छु हात ती र खोज्छु सार आसको ।।२।।
जहाँ चुहुन्छ पाखुरी बहन्छ धार प्यारको
सदैव भेट्छु मानमा म शानमा अपारको ।
उँभो उँभो उठाउँदै म देश माथि राख्तछु
र अन्धकारका लुला चिरेर छिद्र फाल्दछु ।।३।।
नुहुन्न माथ क्यै गरी पराय रोष भञ्जन
म बाल्छु क्रान्तिको दियो प्रदीप्त दीप्त कञ्चन ।
सधैँ नवीन सोचले म स्वाभिमान रच्तछु
खुला गरेर ज्ञानको अजस्र सोत खोज्दछु ।।४।।
अवश्य साँधमा ठुलो बलिष्ठ बार लाउँदै
स्वदेशका गढीहरू म एकता सजाउँदै ।
उचाल्छु लालिमासँगै सुदिव्य मानुषी छटा
म लेख्छु सभ्यतासँगै नवीन काव्य बाछिटा ।।५।।
बिहान गीतका मुना सँगाल्न बोक्छु लेखनी
अजीर्ण जीर्ण सोच ती चिरेर बाल्छु रोशनी ।
विचार पुष्ट पारिए असाध्य बढ्छ वैभव
सहस्र साँघुरा लुला विचार मार्न संभव ।।६।।
जितिन्छ युद्ध आँटले सुकर्म–लक्ष्य पक्रिए
सुवासना जताततै बहन्छ फूल फक्रिए ।
म युद्ध जित्छु शानले म हार्न जान्दिनँ यहाँ
सिँगार्छु देशको कला जगाउँदै जहाँतहाँ ।।७।।
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर