महालक्ष्मी विकास बैंक लिमिटेड र सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.बीच सम्झौता भएको छ । ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौतापछि बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसीजी तथा इको सेवामा अधिकतम १०% छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५% छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।
देशका १०३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपील पनि गरेको छ ।