आइतबार, आश्विन १८ गते २०८३

कमरेड

श्रावण १८, २०७८ सोमबार
कमरेड

baburamshrestha.jpg

बाबुराम श्रेष्ठ ‘यात्री’

(कमरेड पुष्पलालको ४३औं स्मृति दिवसको उपलक्षमा आयोजित कबिता बाचन कार्यक्रममा श्रावण १५ गते पढिएको कबिता) 

नाकै ठोक्किएला झैँ  ठाडो  बाटो पहिल्याएर

हुँस्सुले निलेको गाउँबस्ती बाट

रोजेर संघर्षको यात्रा

यायावर बीच

गोजीभरीको अलौटे मकै

गुन्द्रुकको स्वादमा

काटान्कुटुङ चपाएर

निदारभरी पसिना  रसाएर

मयलहरु आहाल खेलिरहेको छ

एउटा कामरेड काहा

अघिअघि डोबहरु छन्

छाडि गएका

देखिन्छ पर क्षितिज छोउला झैँ

आफ्नो उचाई नापी रहेको पहाड

र छेउमा कसैलाई कुरिरहेको बर पिपल

लाग्दो हो कोहि त बसिदेला

तर कहाँ छ समय

कामरेड सग

उज्यालो नहुदै देखि मिर्मिरे साँझसम्म

यात्रा तय हुन्छ

ओकेटोकेमा सम्पर्क टावर फिजाउदै

एक मुठी पानी च्यापेर घाटीमा

फिस्स दन्तेलहर खोल्दै

हरेक क्षण मिठो सपना मनभरी पोको पार्दै

पिठ्युँमा झुन्डाएर बन्दोबस्ती

यात्रा गर्नु छ कामरेड

जून फुलेको देशमा

नदि झैँ बेहिमानी होइन कामरेड

बिर्सदैनँ

हिद्दा हिद्दै बनाएको किनाराहरु

हातरु फिजाउदै बाडेको सपनाहरु

ढुङ्गा बालुवासग छोडेका यादहरु

र  समुद्र भेटेपछि समुद्रमा बिलाउने

  कामरेड

अस्तित्वकै लागि होमिएको हो

अजम्बरी नाता गास्न

परिबर्तनको बिगुल फुक्न

चुच्चे नाकहरु थेप्चो पार्दै

समानता कडी राख्न

  निन्याउरो अनुहारहरुमा

  घाम नउदाएको आँगनमा

  खुसिका पोकाहरु खोली दिन

  हिडेको हो कामरेड

कसैले नभनी दिनु

ए ! शहर जाने हो

कसैले नसराप्नु उसलाई

ज्यानको बाजि मारेर

गाम छोडेको हो

सक्नु हुन्छ भने अलिकति साहस दिनु

खोले र सातु दिनु

शत्रुसँग लड्न काफी हुन्छ

उसको यात्रा भिरै भिरमा छ

न्यायको खातिर

हेर ! लड्न एक्लै सिक्ने हो

बन मार्ने बनमाराहरु उखेल्ने हो

लहरा पहरा छ्हरा हुँदै

आफ्नै बाटो बनाउने हो

नत्र कामरेड के कामरेड

शिरिफ जिउनुको लागी मात्र

जिउनु जीवन होइन

केही नयाँ

पुरातन सोच बदल्नु भनेको

आफ्नै जिन्दगी  खुकुरीको धारमा हिडाउनु हो

तर सपनाहरू ओइलिनु हुन्न

सोच्नुस्

भिरमा फुलेको पनि फूल हो

सबैको शिरमा कहाँ सजिन्छ फुल

तर हिड्नुस्

बाटो नबिराउनुस्

समयले बताउछ

भन्नुस्

सत्य सत्य हो

सत्यको जित हुन्छ

कामरेड ! !

 

सिन्धुली, मरिण